जनता टाइम्स

२ मंसिर २०७६, सोमबार १६:०९

प्रहरीलाई भ्यानभित्रै आलमको धम्की : पुरै जिल्लामा आगो लगाउँछु, तिमीलाई हत्कडी लगाउँछु (भिडियोसहित)


काठमाडौं, मंसिर २ । बम विस्फोटका घाइतेलाई इँटाभट्टामा हालेर मारेको अभियोगमा पुर्पक्षका लागि जेल चलान गरिएका पूर्वमन्त्री तथा रौटहट–२ का कांग्रेस सांसद मोहम्मद अफताव आलमले पक्राउका क्रममा प्रहरीसँग नै रौतहटमा आगो लगाउने, ‘मान्छे मार्ने’ धम्की दिएका छन् । पूर्वमन्त्री तथा कांग्रेस सांसद आलमले पक्राउका क्रममा प्रहरीसँग यस्तो धम्की दिएका हुन् ।

२ मिनेट २४ सेकेण्ड लामो भिडियोमा उनले भारतबाट मान्छे ल्याएर रौतहटमा आगो लगाउने धम्की दिएका छन् ।

आलमः तपाईंले मलाई ठट्टा ठान्नु भा’

प्रहरी : कहाँ हामीले ठट्टा ठानेका छौँ हजुर, माननीयज्यूलाई हामी सम्मान गर्छौं । जय नेपाल, नमस्कार भनेका छौँ ।

आलमः (गाडीको सिट अगाडि हात बजार्दै) हँ यो जिल्लामा आग (आगो) लाग्छ, आग ।

प्रहरी : शान्ति सुरक्षा र कानुन कार्यान्वयन गर्नु तपाईंको पनि जिम्मेवारी हो नि माननीयज्यू ।
आलम : यो जिल्लामा आग लाग्छ। तपाईं हेर्दै जानुस्। भारतबाट मानिस (उनी आफ्नो मोवाइल फोन हेर्छन)

प्रहरी : त्यसो भन्न मिल्दैन हजुर ।

आलम : मैले वारात (विवाह) बाट आउँछु भनेर रिक्वेस्ट गरें । म तपाईंको के हो ? म डकैत हुँ ? डकैतको व्यवहार गर्नु भा’छ तपाईंहरुले ।

प्रहरी : हैन माननीयज्यू ।

आलम : अब जिल्लाभर अशान्ति हुन्छ, आगो लाग्छ ।

प्रहरी : सर्वाेच्चको आदेश मान्दा हजुरले त्यसो भन्न मिल्दैन ।

आलम : तपाईलाई हत्कडी लगाउँछु, तपाईलाई । तपाई र एसपीजीले थाह पाउँछ । तपाईले पुलिस राखेर जसरी मलाई समात्नु भयो, त्यस्को भुक्तभोगी तपाई र एस्पी हुन्छ ।

प्रहरी : हामीले सर्वाेच्चको आदेश पालना गरेको हो हजुर ।

हेर्नोस आलमका धम्की