जनता टाइम्स

२ मंसिर २०७६, सोमबार २०:२८

तीन वर्षभित्र भोजपुरको सबै क्षेत्रमा सडक र पुलको पहुँच पुर्याउने मुख्यमन्त्री राईको घोषणा


भोजपुर, मंसिर २ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले अगामी तीन वर्षभित्र भोजपुरका सबै क्षेत्रमा सडक र पुलको पहुँच पुर्याउने अठोट गर्नुभएको छ ।

सदरमुकामसँग दक्षिणी क्षेत्र जोड्ने घोरेटार सडकखण्डअन्तर्गतको मानेभञ्याङस्थित पिखुवा खोलाको मोटरेबल पुल र भोजपुर रङ्गशालाको आज शिलान्यास गर्दै उहाँले सो कुरा बताउनुभएको हो । मुख्यमन्त्री राईले जिल्ला जोड्ने अरुण, दूधकोशी, सुनकोशी नदीलगायत सानाठूला सबै पुल र सडकका आयोजनाका ठेक्का प्रक्रिया अगाडि बढाइसकेको उल्लेख गर्दै जिल्लाको विकास र समृद्धिका निम्ति गुरुयोजना अगाडि बढाइसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “प्रदेश सरकारको एउटै मात्र चाहना विकास हो, यसलाई सङ्घीय प्रणालीअन्तर्गत तीन तहको ढाँचाबाट पूरा गर्न सकिन्छ ।”

प्रदेश र सङ्घीय सरकारमार्फत सञ्चालन हुने यस्ता आयोजनाको निगरानीमा जोड दिन उहाँले स्थानीय सरकारलाई आग्रह पनि गर्नुभयो । पिखुवा खोलाको मोटरेबल पुल करीब रु छ करोड र रङ्गशाला रु १४ करोड पाँच लाख २६ लागतमा बन्ने जनाइएको छ । पूर्वाधार कार्यालय, भोजपुरका प्रमुख राजनराज रेड्डीले पिखुवा खोलाको पुल २०७८ साल र रङ्गशाला २०८० सालसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो ।