काठमाडौं, भदौ १५ । रुपन्देही–३ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उम्मेदवार बनाएका डा. लेखजङ्ग थापा दल फेर्ने प्रवृत्तिका कारण अति अवसरवादी भएको टिप्पणी सुरु भएको छ ।
‘जान्ने र योग्यलाई छान्ने’ दाबी गर्दै आएको रास्वपाले उम्मेदवार चयनमा ९ जना आकांक्षीमाझ प्राइमरी इलेक्सनसमेत गरेको थियो । अनलाइन मतदानमार्फत सबैभन्दा बढी मत ल्याएका भन्दै थापालाई उम्मेदवार बनाइयो । तर, ‘सबैभन्दा जान्ने भनेर छानिएको व्यक्ति दुई श्रीमतीका पति र चरम महत्वाकांक्षी’ भएको भन्दै अहिले पार्टीभित्र र बाहिर आलोचना हुन थालेको छ ।
२०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा थापालाई नागरिक उन्मुक्ति पार्टीले समानुपातिकको उम्मेदवार बनाएकाे थियाे । २०७९ सालमा सम्पन्न चुनावमा लुम्बिनी प्रदेशका लागि खस आर्यतर्फ उहाँ साे पार्टीकाे समानुपातिक सुचीमा रहनु भएकाे थियाे। उहाँको नाम प्राथमिकता क्रमको पाचौँ नम्बरमा थियो । तर तीन वर्ष नबित्दै फेरि रास्वपामा प्रवेश गरेर उहाँले उम्मेदवारी हात पार्नुभएकाे छ ।
यसरी पटक–पटक दल बदल्दै अघि बढ्ने प्रवृत्तिलाई कतिपयले अवसरवादको चरम उदाहरण भनेका छन् । यही कारण अब २०८४ को निर्वाचनमा थापाले कुन पार्टी रोज्नु हुनेहाे भन्ने प्रश्न चर्चामा आएको छ ।
पेशाले वरिष्ठ न्युरोलोजिस्टका रूपमा परिचित थापा नेपाल स्ट्रोक एसोसिएसनका संस्थापक अध्यक्ष र काठमाडौंस्थित नेसनल न्युरो सेन्टरका विभाग प्रमुखका रूपमा समेत काम गरिसक्नु भएकाे छ । तर उहाँको राजनीतिक यात्रा भन्दा बढी निजी जीवन र दल–परिवर्तन नै अहिले बढी चर्चाको विषय बनेको छ ।

थापाका दुई पत्नी छन् – सुलोचना घिमिरे र नुमा शर्मा । सुलोचना रुपन्देहीको सिद्धार्थनगर–९ अञ्चलपुरमा एक छोरासहित बस्नुहुन्छ । उहाँ भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेसमा नर्सका रूपमा कार्यरत हुनुहुन्छ।
नुमा शर्माले नर्सिङमा मास्टर्स गर्नु भएकाे छ । उहाँ काठमाडाैंमा एक छोरासहित बस्नु हुन्छ ।
जनताको विश्वास जित्नुभन्दा बढी दल बदल्दै राजनीतिमा ‘अवसर’ खोजिरहनु थापाको मुख्य रणनीति बनेको आरोप लाग्न थालेको छ । अब जनताले उहाँलाई ‘योग्य उम्मेदवार’को रूपमा लिने कि ‘अति अवसरवादी’को रूपमा बुझ्ने भन्ने प्रश्नले रुपन्देही–३ को उपनिर्वाचनलाई अझ चासोपूर्ण बनाएको छ ।













प्रतिक्रिया दिनुहोस्