जनता टाइम्स

३ मंसिर २०७६, मंगलवार ०९:१३

पूर्वमन्त्री आफताव आलमलाई मुद्दा चलाउने रौतहटका प्रमुख सरकारी वकिलको सरूवा


काठमाडौं, मंसिर ३ । बाह्र वर्षअघि बम बनाउन लगाएको र विष्फोट भएपछि घाइतेलाई जिउँदै इँटाभट्टामा हालेर हत्या गरेको अभियोगमा नेपाली कांग्रेसका सांसद मोहम्मद अफताब आलममाथि मुद्दा चलाउने सरकारी वकिल खडिन्द्र कटुवाललाई महान्यायाधीवक्ता कार्यालयले सरूवा गरेको छ। रौतहट जिल्लाका प्रमुख सरकारी वकिल तथा सहमहान्यायधीवक्ता कटुवाललाई सरूवा गरिएको महान्यायाधीवक्ता कार्यालयका प्रवक्ता सञ्जीवराज रेग्मीले जानकारी दिनुभयो।

कटुवाललाई रौतहटबाट मकवानपुर जिल्ला सरकारी वकिल कार्यालयमा सरुवा गरिएको हो । आलमलाई मुद्दा चलाउने सरकारी वकिल र उनको मुद्दा हेर्ने न्यायाधीशलाई सुरक्षा थ्रेट आएको समाचारहरू सार्वजनिक भएकै बेला कटुवालको सरूवा गरिएको हो। कटुवालमात्र होइन उच्च सरकारी वकिल कार्यालय वीरगन्जका प्रमुख ध्रुवमणि ज्ञवालीलाई पनि सरूवा गरिएको छ। उनलाई सुर्खेत उच्च सरकारी वकिल कार्यालय पठाइएको छ।

ज्ञवाली १२ वर्षअघि आलमविरूद्ध मुद्दा नचलाउने निर्णय गर्ने सरकारी वकिल हुन्। त्यतिबेला उनले प्रहरीले ल्याएको अनुसन्धान प्रतिवेदनमा प्रमाण नपुगेको भन्दै मुद्दा नचलाउने निर्णय गरेका थिए। यसपटक आलम पक्राउ परेपछि उनलाई समेत बोलाएर प्रहरीले बयान कागज गराएको थियो। उनले यो मुद्दामा बयान कागज गरेकाले पनि रौतहटलाई सुपरभिजन गर्ने कार्यालय वीरगन्जमै राखिरहन उपयुक्त नभएकाले सरूवा गरिएको प्रवक्ता रेग्मीले बताउनुभयो । आलमले पक्राउका बेला प्रहरीलाई समेत धम्की दिएका खबरहरू सार्वजनिक भएका छन्।

पुर्पक्षका लागि आलमलाई थुनामा राख्न ललितपुरको नख्खु कारागार ल्याइए पनि उनका निकटहरूबाट सरकारी साक्षीहरू त्रसित बनेपछि प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ। १२ वर्षअघिको त्यो बम विष्फोटमा घाइते भए पनि भागेर बाँचेका सफी अहमद र भारतीय नागरिक गौरी शंकर रामलाई प्रहरीले आफ्नो विशेष सुरक्षामा राखेको छ।

गौरी शंकरले त आफ्नो सुरक्षा माग गर्दै गत हप्ता जिल्ला अदालत रौतहटमा निवेदन दिए। त्यसपछि रौतहट प्रहरीले उनलाई सुरक्षित आवासमा राखेको छ भने उनका परिवारलाई विशेष सुरक्षा गर्न भनेर भारतीय प्रहरीलाई लेखिपठाएको छ। प्रहरीले जाहेरवाला लगायत अन्य साक्षी र उनीहरूको परिवारलाई पनि सुरक्षा दिन उनीहरू भएको ठाउँमा प्रहरी गस्ती बढाएको छ।

यस्तै आलमलाई थुनामा पठाउने न्यायाधीश दीपक ढकालले पनि सोही दिन रौतहट छाडनुभएको छ । ८ दिन लामो थुनछेक बहस पछि शुक्रबार न्यायाधीश ढकालको इजलासले आलमलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो। पीडित र साक्षीहरूले सुरक्षाको लागि निवेदन दिएको भन्दै ढकालको इजलासले आलमलाई रौतहट कारागारमा नभइ नख्खु कारागार ललितपुरमा पठाउन आदेश दिएको छ। बम विस्फोटमा परेर घाइते भएकाहरूलाई प्रमाण समेत नष्ट हुने गरी जिउँदै इँटा भट्टामा हालेर जलाएको अभियोग लगाएर सरकारी वकिल कार्यालयले उनीविरूद्ध जिल्ला अदालत रौतहटमा मुद्दा दायर गरेको थियो।

निर्मम तरिकाले हत्या गरेको अभियोग लागेकामा आलमसहित उनका भाइ महम्मद अफताब आलम, मोहम्मद मोबिन आलम, शेख भदई, शेख सेराज भन्ने शेष सराज, शेख फजलेहक, सगिर आलम, शेख जुमईन भन्ने शेख मलकार, गौरीशंकर साह, बद्री सहनी र मुक्ति साह छन्।

आलम पक्राउ परे पनि अरू सबै फरार छन्। उनीहरूका नाममा पक्राउ वारेण्ट जारी गर्न माग गरिएको छ। विस्फोटक पदार्थमा २ वर्षसम्म कैद र २० हजार जरिवाना, ज्यान मार्ने कसूरमा जन्मकैद (बीस वर्ष) र ज्यान मार्ने उद्योगमा दस वर्षसम्म कैद र एक लाख रुपैयाँ जरिवाना माग गरी अभियोग पत्र दायर गरिएको छ।