जनता टाइम्स

३ मंसिर २०७६, मंगलवार ११:५०

विद्या भट्टराईको बिजयबाट मात्रै पूरा हुनेछ समृद्ध कास्की बनाउने रवीन्द्र अधिकारीको त्यो सपना


पोखरा, मंसिर ३ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेश अध्यक्ष हितराज पाण्डेले कास्की २ मा महिला नेतृत्व स्थापित गर्न प्राप्त भएको ऐतिहासिक अवसर नगुमाउन आम मतदातालाई अपिल गर्नुभएको छ । प्रतिनिधि सभा कास्की २ की उम्मेद्वार विद्या भट्टराई अधिकारीलाई जिताएर कास्केली जनताले कास्कीमा महिला नेतृत्व स्थापित गर्नुपर्ने नेता पाण्डेको भनाई छ ।

नेता पाण्डेले बिद्या भट्टराईको बिजयबाट मात्रै समृद्ध कास्की निर्माणको सपना पूरा हुने तथ्यसमेत राख्नुभयो । विद्या भट्टराईलाई जिताउन आयोजित घरदैलोपछिको कोणसभालाई आज विहान सम्बोधन गर्दै उहाँले विद्या भट्टराई अधिकारी सशक्त नारी हस्ताक्षर भएको र उहाँ समृद्धीको बाहकसमेत भएकाले भारी मतले बिजयी बनाउनु पर्ने बताउनु भयो । अध्यक्ष पाण्डेले कम्युनिष्ट बाहेक अरुले देश बचाउन नसक्ने ठोकुवासमेत गर्नुभयो ।

‘जतिपनि राष्ट्रघाती सम्झौता भएका छन् ति सबै कांग्रेसकै पालामा भएका छन,’ पाण्डेले भन्नुभयो, ‘त्यसैले देशलाई बचाउन कम्युनिष्टलाई जिताउनुको विकल्प छैन, कम्युनिष्टबाहेक अरु कसैलाई देश बचाउन सक्दैन ।’ उहाँले कम्युनिष्टले मात्र देशको स्वाधिनता र राष्ट्रियता जोगाउन सक्ने बताउनु भयो । कम्युनिष्ट नेतृत्वमा प्राप्त उपलब्धीलाई संस्थागत गर्नपनि कम्युनिष्ट उम्मेद्वारलाई जिताउन आग्रह पनि गर्नुभयो । अध्यक्ष पाण्डेले २ वर्षअघि कम्युनिष्टलाई शालिन रुपमा जनताले म्याण्डेट दिएको र उपचुनावमा सोही म्याण्डेटलाई अनुमोदन गर्न पनि कम्युनिष्टलाई नै भोट दिन आग्रह गर्नुभयो ।

 सभामा उम्मेद्वार विद्या भट्टराई अधिकारीले पोखरा क्षेत्रीय अन्र्तराष्ट्रिय विमानस्थल निर्माण गरेर पोखरालाई अन्र्तराष्ट्रिय रुपमा चिनाउने र जोड्ने पहल भइरहेको र त्यसको नेतृत्व रवीन्द्र अधिकारीले गरेकाले अब बाँकी काम आफूले पूरा गर्ने बताउनु भयो । पूर्वाधार विकास बिना समृद्धी सम्भव नरहेको बताउँदै उहाँले पोखरालाई भौतिक पूर्वाधारयुक्त बनाउन आफूसँग थुप्रै योजनाहरु रहेकाले सो योजना कार्यान्वयनका लागि सूर्यमा मतदान गरेर बिजयी गराउन आग्रह गर्नुभयो ।

विगतमा ३ पटक रवीन्द्रलाई पोखरेली जनताले दिएको विश्वासको मत यसपटक पनि जारी राखेर न्याय र समृद्धीको यात्रामा हातेमालो गर्न उहाँले आम मतदातालाई आग्रह गर्नुभयो । आफू बिजयी भएर जनताको घरदैलोमा आइरहने र जनताको साथ, सहयोग र सुझावका आधारमा अघि बढ्ने प्रतिबद्धता पनि नेतृ भट्टराईले जनाउनु भयो ।

यसैबीच, पोखरा २१ मा नेकपा पोखरा महानगर कमिटी अध्यक्ष दीपकको नेतृत्व जनता भेटघाट कार्यक्रम भइरहेको प्रचारप्रसार सहसंयोजक झपट रानाभाटले जानकारी दिनुभयो । जनता भेटघाट कार्यक्रममा नेकपाका जिल्ला सदस्यहरु, नेकपाका वडाध्यक्ष, पूर्व जनप्रतिनिधिहरुसहित स्थानियको बाक्लो सहभागिता रहेको छ ।