जनता टाइम्स

३ मंसिर २०७६, मंगलवार १२:०५

देउवाको कांग्रेसभित्रै अधिनायकवाद : विघठित भ्रातृसंस्था ब्युताउन आनाकानी


काठमाडौं, मंसिर ३

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रतिनिधिसभा निर्वाचनको मुखमा कम्युनिष्टहरुले अधिनायकवाद ल्याउन लागे भनेर भाषण दिएको चर्चा अझै सेलाएको छैन । उहाले कम्युनिष्टको शासन आयो भने रुन पनि पाइदैन भनेर अहिले पनि अभिव्यक्ति दिदै आउनु भएको छ ।

तर, त्यही कांग्रेसभित्रको लोकतन्त्र भने अहिलेसम्म पनि राम्रोसँग देखिएको छैन । कांग्रेसकै कार्यकर्ताहरु देउवाले नै पार्टीभित्र अधिनायकवाद लादिरहेको आरोप लगाउछन् । सार्वजनिक मञ्चमा अरू पार्टीलाई लोकतन्त्र र तदनुरूपको आचरणको पाठ सिकाउने कांग्रेसको आन्तरिक लोकतन्त्र धुजाधुजा भएको छ । कांग्रेसका अधिकांश भ्रातृसंस्थाहरू लगभग विघटित अवस्थामा छन् । आवधिक महाधिवेशन गर्न नसकेर सबैजसो निस्क्रिय छन् ।

यसैक्रममा नेपाल विद्यार्थी संघ (नेविसंघ)को १२ औं महाधिवेशन रोकिएको धेरै पटक भईसक्यो । महाधिवेशनको म्याद तोक्ने काम पनि धेरै पटक भईसक्यो । तर, अहिलेसम्म न महाधिवेशन हुने छाटकाट छ न त तदर्थ समिति बनाउने । यसैक्रममा सभापति देउवाले उपनिर्वाचनपछि नेविसंघले नेतृत्व पाउने आश्वासन दिनु भएको छ ।

मंगलबार आफ्नो निवास पुगेका नेविसंघका पूर्वउपाध्यक्ष ऋषिकेशजंग शाहलगायतसँगको छलफलपछि देउवाले १२ औं महाधिवेशनका लागि नेविसंघमा नेतृत्व दिइने बताउनु भयो । देउवाले नेविसंघलाई नेतृत्व दिन सुनसरीका राजीव ढुंगानाको नाम सभापतिका लागि प्रस्ताव गरेपछि विवाद श्रृजना भएको छ । नेविसंघ नेतृत्वविहीन भएको नौ महिना भइसकेको छ ।