जनता टाइम्स

३ मंसिर २०७६, मंगलवार १२:४१

काठमाडौँ महानगरको प्रशासन विभाग प्रमुखको जिम्मेवारी ढकाललाई


काठमाडौँ, मंसिर ३ । काठमाडौं महानगरपालिकाले प्रशासन विभाग प्रमुखको जिम्मेवारी नमराज ढकाललाई दिइएको छ । हाल सहकारी विभागका प्रमुख रहनु भएका ढकाललाई अर्को व्यवस्था नभएसम्मका लागि प्रशासन विभागको जिम्मेवारी दिइएको हो । कामनपामा प्रशासन विभागलाई सबै भन्दा शक्तिशाली विभागका रुपमा लिइन्छ ।

ढकाल विद्यासुन्दर शाक्य काठमाडौँ महानगरपालिकाको मेयर निर्वाचित भएर आएपछि लामो समय शाक्यको सचिवालय प्रमुखको जिम्मेवारीमा हुनुहुन्थ्यो । उहाँले सहप्रवक्ताको समेत जिम्मेवारी सम्हाल्नु भएको थियो । शिक्षा, सहकारीलगायत पनि स्थानीय सरकारकै मातहतमा रहने भएपछि ढकाललाई सहकारी विभाग प्रमुखको जिम्मेवारी दिइएको थियो । अर्थशास्त्रमा स्नातकोत्तर गर्नुभएका ढकालले अर्थशास्त्रमै एमफिल गर्नुभएको छ भने दर्शनशास्त्रमा पनि स्नातकोत्तर गर्नुभएको छ । लामो सयम महानगरकै विभिन्न विभागमा रहेर काम गर्नुभएका ढकालले वित्तीय प्रशासनमा पनि स्नातकोत्तर गर्नुभएको छ भने कानुनमा स्नातक हुनुहुन्छ ।

लामो समयदेखि प्रशासन विभाग प्रमुखसँगै प्रवक्ताको समेत जिम्मेवारीमा रहनु भएका ज्ञानेन्द्र कार्कीलाई ३१ असारमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले महानगरपालिकालाई पत्र लेखी कार्कीलाई अर्को निर्णय नभएसम्मका लागि मन्त्रालयमा हाजिर हुन पठाउन पत्राचार गरेको थियो । त्यसको भोलिपल्टै अर्थात साउन १ गते महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपानेले कार्कीलाई मन्त्रालयमा हाजिर हुन जान तोक लगाएपछि कार्की प्रशासन विभागको जिम्मेवारीबाट अलग हुनुभएको थियो ।

जनप्रतिनिधिलाई नै प्रवक्ताको जिम्मेवारी दिने प्रावधान अनुसार काठमाडौँ महानगरपालिका वडा नम्बर–१५ का अध्यक्ष ईश्वरमान डंगोलले प्रवक्ताको जिम्मेवारी पाएपछि कार्की यस अघि नै त्यो जिम्मेवारीबाट पनि अलग हुनुभएको थियो ।