जनता टाइम्स

१९ भाद्र २०८२, बिहीबार १३:२३

महिलाको आर्थिक सबलीकरणका लागि सिलाइ मेसिन वितरण


रामेछाप, भदाै १९ । रामेछापको मन्थली नगरपालिका–२, ५, ६ र ८ नम्बर वडाका १९ जना महिलाहरुलाई सिलाइ मेसिन वितरण गरिएको छ ।

मन्थली नगरपालिकाकी उपप्रमुख ईश्वरी बस्नेतको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा सामुदायिक विकास समाज (सिडिएस) ले ७२ दिने सीप विकास तालिम पूरा गर्नुभएका महिलाहरुलाई प्रति व्यक्ति १८ हजार रुपैयाँ बराबरको सिलाइ मेसिन हस्तान्तरण गरिएको हो ।

सिडिएसका कार्यकारी निर्देशक मिलनकुमार घिसिङले ग्रामीण महिलाको जीवनस्तर उकास्न सीप विकास अपरिहार्य हुने उल्लेख गर्दै यो अभियान रोजगारी सिर्जना र उद्यमशीलता प्रवर्द्धनतर्फ महत्वपूर्ण कदम भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘ग्रामीण महिलाको सीप विकासमार्फत आर्थिक सबलीकरणमा योगदान पुगोस् भन्ने उद्देश्यले सिलाइ मेसिन हस्तान्तरण गरिएको हो ।’

उहाँका अनुसार सिडिएसले चाइल्ड फण्ड नेटवर्कको सहयोगमा महिला तथा युवाहरुलाई लक्षित गर्दै कृषि, प्राविधिक र व्यावसायिक सीपसम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

सिलाइ मेसिन वितरण गर्दै मन्थली नगरपालिका उपप्रमुख बस्नेतले महिलाहरुलाई सिकेको सीपलाई व्यवहारमा उतार्न सके आत्मनिर्भर बन्न सक्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘सिप सिकेर त्यसलाई व्यवहारमा उतार्न सके आर्थिक सबलीकरण मात्र होइन, समाजमा उदाहरणीय भूमिका निर्वाह गर्न सकिन्छ ।’

उहाँले नगरपालिकाले पनि महिला लक्षित सीप विकास कार्यक्रमलाई प्राथमिकतामा राखेको स्मरण गर्दै सामुदायिक विकास समाजले सञ्चालन गरेको तालिमलाई प्रशंसनीय ठहर गर्नुभयो । बस्नेतले यस्ता कार्यक्रमले ग्रामीण महिलाको जीवनस्तर उठाउन टेवा पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो ।