जनता टाइम्स

२० भाद्र २०८२, शुक्रबार ११:००

नेपालमा दर्ता नभएका २६ सामाजिक सञ्जाल बन्द, टिकटक भने चलायमान


काठमाडौं, भदौ २० ।नेपाल सरकारले दर्ता प्रक्रिया पूरा नगरेका २६ वटा सामाजिक सञ्जाल आजदेखि नेपालभित्र बन्द गराएको छ। फेसबुक, इन्स्टाग्राम, युट्युब, एक्स (पूर्व ट्विटर), लिङ्क्डइन, रेडिट, वाट्सअपलगायतका चर्चित प्लेटफर्महरू अब नेपालमा इन्टरनेटमार्फत पहुँचयोग्य छैनन्।

दूरसञ्चार प्राधिकरणको निर्देशनमा नेपाल टेलिकम, एनसेल र प्रमुख इन्टरनेट सेवा प्रदायकहरूले यी सबै प्लेटफर्म बन्द गरेका हुन्। सरकारले २०८० मंसिरमा जारी गरेको सामाजिक सञ्जाल सञ्चालन निर्देशिकाअनुसार सबै विदेशी वा स्वदेशी प्लेटफर्मलाई नेपालमा दर्ता अनिवार्य गरिएको थियो। तर, पाँचपटक सूचना निकाल्दा पनि विश्वव्यापी कम्पनीहरूले दर्ता नगरेपछि अन्ततः ‘निष्क्रिय’ गराइएको हो।

यता, टिकटक, भाइबर, WeTalk, Nimbuzz र Popo Live भने अझै सञ्चालनमै छन्। यी कम्पनीहरूले सरकारसँग दर्ता प्रक्रिया पूरा गरिसकेका वा आवश्यक कागजी प्रक्रिया अघि बढाइसकेका कारण अवरुद्ध गरिएको छैन। टेलिग्राम, ग्लोबल डायरी र हाम्रो पात्रो जस्ता एप्लिकेशन भने दर्ता प्रक्रियामा रहेका छन्।

सञ्चार मन्त्री ले पृथ्विसुब्बा गुरुङले बिहीबार दिएको प्रतिक्रियामा ‘हामीले कुनै पनि कम्पनीलाई बन्द गर्न चाहेका होइनौं, तर राष्ट्रिय कानुन पालना नगर्नेप्रति कठोर बन्न बाध्य भएका हौँ, एकपटक दर्ता प्रक्रिया पूरा भए तुरुन्तै पुनः सञ्चालन गरिनेछ’ भन्नुभएकाे थियाे ।

यस घटनाले देशभर चर्को बहस सुरु भएको छ। पत्रकार महासंघ, डिजिटल अधिकारकर्मी तथा राजनीतिक दलका नेताहरूले सरकारको कदमलाई ‘अभिव्यक्ति स्वतन्त्रतामाथिको प्रहार’ भन्दै  आलोचना गरेका छन्। सामाजिक सञ्जाललाई नियन्त्रण गरेर लोकतन्त्र कमजोर बनाउन खोजिएको आरोपसमेत लागिरहेको छ।

इन्टरनेट सेवा प्रदायक संघ (आइस्पान) ले भने, एकैपटक यति धेरै प्लेटफर्म बन्द गर्दा प्रयोगकर्ताले VPN प्रयोग गर्न थाल्ने, जसले नेटवर्कमा लोड बढाउने र इन्टरनेटको गुणस्तर खस्काउने चेतावनी दिएको छ।