काठमाडौँ, भदाै २०। सरकारले दर्ता नगरी सञ्चालनमा रहेका सामाजिक सञ्जाल बन्द गर्ने निर्णयलाई कार्यान्वयन गर्दै वल्र्डलिंक कम्युनिकेशन्स लिमिटेडले पनि नेपालमा ती प्ल्याटफर्महरू बन्द गरेको छ ।
कम्पनीले सूचना जारी गर्दै नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशनअनुसार सेवा अवरुद्ध गरिएको जनाएको छ । सूचनामा भनिएको छ, ‘नेपाल दूरसञ्चार प्राधिकरणले सम्मानित सर्वोच्च अदालतको आदेश, नेपाल सरकार मन्त्रिपरिषद्को भदौ ९ गतेको निर्णय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको भदौ १२ गतेको मन्त्रालयस्तरीय निर्णय तथा सामाजिक सञ्जाल प्रयोगलाई व्यवस्थित गर्ने निर्देशनिका २०८० का आधारमा नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल प्लेटफर्म नियमन गर्नका लागि हाम्रो कम्पनीलाई निर्देशन प्राप्त भएको छ । यसअनुसार वल्र्डलिंक इन्टरनेटमार्फत ती प्ल्याटफर्महरू अब प्रयोग गर्न सकिने छैन ।’
कम्पनीले यस कदमका कारण केही प्रयोगकर्तालाई असुविधा हुन सक्ने भन्दै क्षमा समेत मागेको छ ।
यसअघि नेपाल टेलिकम र एनसेलले पनि आफ्नो मोबाइल डाटा तथा इन्टरनेट सेवामार्फत दर्ता नभएका सामाजिक सञ्जाल सञ्चालन नहुने जानकारी गराइसकेका छन् ।
सरकारले अहिलेसम्म दर्ता प्रक्रिया पूरा नगरेका २६ वटा सामाजिक सञ्जाल प्ल्याटफर्मलाई नेपालमा सञ्चालन रोक्ने निर्णय गरेको हो ।













प्रतिक्रिया दिनुहोस्