जनता टाइम्स

३ मंसिर २०७६, मंगलवार १४:४३

सदरखोर बन्दी नम्बर ३४३ निवर्तमान सभामुख महरा : पूर्वआइजीपी र पूर्वडिआइजी साथी, यसरी बिताउँछन दिन


काठमाडौं, मंसिर ३ । निवर्तमान सभामुख कृष्णबहादुर महरा यतिबेला सदरखोर डिल्लीबजारमा रहेका छन । संसद सचिवालयकी महिला कर्मचारी रोशनी शाहीलाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा अदालतको आदेशअनुसार कात्तिक १८ गते देखि पुर्पक्षका लागि जेल चलान भएका महरा त्यसै दिनदेखि डिल्लीबजार सदरखोरमा बन्दी नम्बर ३४३ बनेर बसिरहेका छन ।

जिल्ला अदालत काठमाडौंले महरालाई पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएपछि अहिले बन्दीका रुपमा महराले जेल जीवन बिताइरहेका हुन । लामो समयदेखि प्रेमिका रहेकी शाहीले नै बलात्कारको आरोप लगाएपछि सभामुख निवासबाट सिधै जेल पुगेका महरा जेल अन्य भीआईपी कैदीबन्दीभन्दा फरक ब्यवहार गरिरहेका त्यहाँ रहेको अन्य कैदीबन्दी बताउँछन । उनीहरुका अनुसार महराको दिनचर्या अन्य भिआइपी कैदीबन्दी भन्दा निकै सामान्य रहेको छ । अर्थात महरामा अन्य भीआईपी कैदी जस्तो घमण्ड अहिलेसम्म देखिएको छैन ।

डिल्लीबजार कारागारमा बन्दी ढड्डाको ३४३ नम्बर बन्दीका रुपमा कृष्णबहादुर महराको नाम दर्ता छ । पूर्वप्रहरी महानिरीक्षक रमेशचन्द ठकुरी र पूर्वप्रहरी नायव महानिरीक्षक रञ्जन कोइराला महराका जेलका साथी बनेका छन् । महरा हरेक दिन बिहान ४ बजेदेखि ५ बजेसम्म ब्युँझिन्छन । भने राति ९ बजे सुतिसक्छन । सदरखोरस्थित सुरक्षाकर्मीका अनुसार आफू उठनसाथ महरा अन्य कैदीबन्दीलाई पनि उठाउने गर्छन । उठौं साथीहरू, उज्यालो भइसक्यो भन्दै सवैलाई ब्युँझाउने महराको हरेक बिहानीको काम बनेको छ ।

डिल्लीबजार कारागारमा कृष्णबहादुर महरासँगै निलम्बित सांसद रेशम चौधरी, डीबी कार्की, रमेश चन्द ठकुरी, रञ्जन कोइराला, शम्भु भारतीसहित ६ जना भीआईपी कैदीबन्दी छन् । महरा लगायत भीआईपीलाई अन्य कैदीबन्दीसँग नराखेर छुट्टै सानो समूहमा राखिएको छ । महराको दिनचर्या धेरैजसो किताब पढेर बित्ने गरेको त्यहाँका कर्मचारीको भनाई छ । यस्तै महराले साताको दुई दिन मात्रै भात खाने गरेका छन् । अन्य ५ दिन कारागारको मेसमा रोटी खान्छन । महराको लागि जेलमा एउटा ‘सिङ्गल बेड’को व्यवस्था गरिएको छ । महरालाई जेलभित्र अन्यभन्दा फरक सुविधा दिइएको यही बेड हो ।