जनता टाइम्स

२१ भाद्र २०८२, शनिबार १९:४७

रामेछाप नगरपालिका बन्यो बालमैत्री शासन सञ्चालन भएको स्थानीय तह


रामेछाप, भदौ २१ । रामेछापको रामेछाप नगरपालिका शनिबारदेखि औपचारिक रूपमा बालमैत्री शासन सञ्चालन भएको नगरपालिका बनेको छ ।

शनिबार रामेछापको टुँडिखेलमा आयोजित विशेष समारोहमा वाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले रामेछाप नगरलाई बालमैत्री शासन सञ्चालन भएको नगर घोषणा गर्नुभयो । नगरपालिका प्रमुख लबश्री न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मुख्यमन्त्री बानियाँले बालबालिकामैत्री स्थानीय शासनको अभ्यासलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।

कार्यक्रममा नगरप्रमुख न्यौपानेले रामेछाप नगरमा ७ हजार ८८ घरधुरी रहेको र सो नगरमा ३६ हजार ६ सय २१ जनसङ्ख्या रहेको जानकारी दिनुभयो । नगरप्रमुखका अनुसार तीमध्ये १८ वर्ष मुनिका १० हजार २ सय ४१ जना बालबालिका रहेका छन् ।

उहाँले थप जानकारी दिँदै समुदायस्तरमा ८३ वटा र विद्यालयस्तरमा ३० गरी जम्मा १ सय १३ वटा बाल समूह सञ्जाल बनेको बताउनुभयो । त्यस्तै वडा र नगरस्तरमा समेत बाल सञ्जाल गठन भएको छ, जसमा २ हजार ४२ जना बालबालिका सक्रिय रूपमा आबद्ध रहेका छन् ।

रामेछाप नगरपालिका वाग्मती प्रदेशभित्र बालमैत्री स्थानीय शासन युक्त स्थानीय तहका रूपमा १२ औँ नम्बरमा परेको छ । यसअघि प्रदेशभित्र ११ वटा स्थानीय तह बालमैत्री शासन सञ्चालन हुने स्थानीय तहका रूपमा घोषणा भइसकेका छन् ।