काठमाडौं, भदौ २३ । सरकारको सामाजिक सञ्जाल बन्द गर्न गरेको निर्णय फिर्ता लिन विद्यार्थी संगठनहरुले माग गरेका छन् ।
सरकारको सूचीकृत नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णयले अभिव्यक्ति स्वतन्त्रता र सूचनाको पहुँचमा असर परेको विद्यार्थी संगठनहरुले बताएका छन् । ‘सामाजिक सञ्जाल र सञ्चारका माध्यम बन्द हुँदा सहज सञ्चारमा अवरोध उत्पन्न भएको छ, जसले विद्यार्थीको अध्ययन, अनुसन्धान र अन्वेषणमा समेत गम्भीर असर पारेको छ’, १७ विद्यार्थी संगठनहरुले जारी गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ ।
हालका तथ्याङ्क अनुसार करिब ७० प्रतिशत साना तथा मझौला व्यवसायहरू सामाजिक सञ्जालमार्फत बजार विस्तार र ग्राहक सम्पर्कमा निर्भर रहेकाले ती व्यवसाय समेत संकटमा परेका विज्ञप्तिमा उल्लेख छ ।
संगठनहरूले सामाजिक सञ्जाल बन्द हुँदा रोजगारी गुम्ने र व्यवसाय धराशायी हुने खतरा उत्पन्न हुने भन्दै सरकारसँग तत्काल सो निर्णय फिर्ता लिन विद्यार्थी संगठनहरुले माग गरेका छन् । उनीहरूले सामाजिक सञ्जाल पुनः सञ्चालन गर्न माग गरेका छन् ।














प्रतिक्रिया दिनुहोस्