जनता टाइम्स

२९ भाद्र २०८२, आईतवार १०:२१

चाँगुनारायणको आँगनबाट गुञ्जिँदै ‘हामी उभिएको धरातलमा’ : नेपाली संगीतको विश्वयात्रा


भक्तपुर, भदौ २९ । साँझको सुनौलो घाम ढल्दै थियो। चाँगुनारायण मन्दिरको पवित्र आँगनमा प्राचीन ढुंगाका मूर्तिहरू, सुन्दर स्तम्भ र पुरानो वास्तु कलाले शान्त परिवेश। एकाएक वातावरणमा धुन गुञ्जियो-मानौँ इतिहास आफैं जाग्यो, संस्कृति पुन: श्वास फेर्न थाल्यो, र आस्थाले अँगालो हाल्यो। त्यो धुन थियो, नेपाली जनमानसमा गहिरो छाप छोडेको कालजयी गीत ‘हामी उभिएको धरातलमा।’

३१ वर्षअघि जन्मिएको यो गीत अब नयाँ दृष्टिकोणसहित अझैं अद्भुत कला, गला र भिडियो संयोजनमा फेरि फर्किएको छ। तर यो केवल एउटा गीतको पुनर्जागरण मात्र होइन यो मातृभूमिप्रतिको पुनःप्रतिज्ञाहो, पहिचान र सम्पदाप्रतिको पुन: जोडाइ हो, र नेपाली संगीतलाई विश्व रंगमञ्चमा पुर्याउने एउटा साहसी अभियान हो।

सपनाको मूर्तिकार : सुनिल उप्रेती

यस सांगीतिक यात्राको आत्मा हुन, संगीतकार सुनिल उप्रेती। पुरानो धरोहरलाई आधुनिक रूप दिनुपर्छ भन्ने सपना उनले बगेका थिए । तर त्यो यात्रामा एउटा अडान थियो- गीतको आत्मा, देशप्रेम र सम्पदाप्रतिको श्रद्धा कहिल्यै हराउन नदिनु। ‘संगीत केवल सुन्ने कुरा होइन,’ उनी भन्छन, ‘यो पुस्ता-पुस्तालाई जोड्ने धरोहर हो। ५० वर्षपछि पनि नयाँ पुस्ताले यही गीतगाउने छ, मातृभूमिलाई माया गर्ने प्रेरणा पाउने छ। यही मेरो सपना हो।’

उप्रेतीको यो दृष्टिले गीतलाई केवल पुनर्जन्म दिएको छैन, बरु दीर्घकालीन धरोहर बनाउने बाटो खोलिदिएको छ।

अघिल्लो संस्करण करिब पाँच मिनेट लामो थियो। तर योपटक, यात्रा अझ गहिरो बनाइएको छ। नयाँ भिडियो करिब आठ मिनेट लामो हुनेछ, जसले पुरानो स्मृतिलाईनयाँपुस्ताकोऊर्जासँगजोड्नेछ।

भिडियोमा चाँगुनारायणको पवित्र आँगन मात्र होइन, सम्पूर्ण देशका गौरवमयी सम्पदा र दृश्यहरूलाई समेटिएको छ। दृश्यसँगै धुन पनि इतिहास, संस्कृति र वर्तमानको भावनात्मक मिलन बन्छ। दर्शकलाई केवल देखाउने मात्र होइन, महसुस गराउने उद्देश्य राखिएको छ।

यो परियोजना कुनै सामान्य काम होइन। यसको पछाडि चारवटा आधुनिक प्रविधियुक्त प्रतिष्ठित स्टुडियो, अत्याधुनिक प्रविधि र दिनरात खटिएका कलाकारहरूको पसिना मिसिएको छ।

नेतृत्वमा छन- सुनिल उप्रेती र भीम तुलाधार। उप्रेतीले सिर्जनात्मक पक्ष सम्हालेका छन, तुलाधारले स्वर, संयोजन र टोली समन्वयमा योगदान दिएका छन्। दुवैको सहकार्यले गीतलाई आधुनिकता र कालजयीपनको अद्भुत मिश्रणमा परिणत गरेको छ।

ग्रेटर नेपाल सामाजिक संस्थाको सहकार्यमा, चाँगुनारायण मन्दिरको आँगनमै भिडियोको शुभमुहूर्त गरिएको थियो।

भिडियोको निर्देशन सञ्चारकर्मी सुचित्रा श्रेष्ठले गरेकी छन। शुभमुहूर्त कार्यक्रममा कलाकारहरु  सुनिल उप्रेती, भीम तुलाधर, जेवि विष्ट, सचिन रौनियार, राजकुमार जोशी, रविन महर्जन, प्रवेशमान शाक्य, भुपेन्द्र बज्राचार्य, जेम्स प्रधान, रश्मि भट्ट, प्रसन्ना शाक्य, निशा देसार, डिजेएल.एक्स, लगायतको उपस्थिति रहेको थियो।