जनता टाइम्स

४ मंसिर २०७६, बुधबार १६:२७

मन्त्रिपरिषद पुनर्गठन भोलि, हटाउने र बनाउने मन्त्रीको सूची तयार पार्दै प्रधानमन्त्री ओली


काठमाडौं, मंसिर ४ । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि बिहीवार मन्त्रिपरिषद बिस्तार गर्नुहुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको नेकपाको सचिवालय बैठकले सरकारको सम्पुर्ण जिम्मेवारी प्रधानमन्त्री ओलीलाई र पार्टीको कार्यकारी जिम्मेवारी अर्का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डलाई दिएलगत्तै बिहीवार मन्त्रिपरिषद पुनर्गठन हुने भएको हो ।

आजको सचिवालय बैठक लामो समय चलेपछि अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओली र अर्का अध्यक्ष प्रचण्डबीच भोलि मात्रै मन्त्रिपरिषद पुनर्गठन गर्ने सहमति भएको हो । आजको बैठकले कार्यबिभाजन गरेपछि प्रचण्डले मन्त्री हेरफेरको सम्पुर्ण अधिकार प्रधानमन्त्री ओलीलाई नै रहेको भन्दै आफ्नो रोजाई र काम गर्न सक्ने मुल्यांकणको आधारमा मन्त्री हेरफेर गर्न सुझाउनु भएको छ । नेकपा बैठकले पाँच बर्ष ओली नै प्रधानमन्त्री रहने निर्णय गर्दै मन्त्री हेरफेरको सम्पुर्ण जिम्मेवारी दिएको छ ।

बैठकको निर्णयअनुसार प्रधानमन्त्री ओलीले हटाउने र मन्त्री बनाउने नयाँ अनुहारको सूची बनाउन थाल्नुभएको छ । स्रोतका अनुसार भोलि बिहान प्रधानमन्त्री ओलीले अध्यक्ष प्रचण्डलाई हटाउने मन्त्री र नयाँ बन्ने मन्त्रीको सूचीबारे जानकारी दिनुहुनेछ । ‘भोलि बिहीवार प्रधानमन्त्रीले अध्यक्ष प्रचण्डलाई मन्त्रिमण्डल पुनर्गठनको सूची दिनुहुनेछ, प्रचण्डले आफूलाई अनुकुल हुने गरी जोकोही मन्त्री हटाउन र नयाँ ल्याउन प्रधानमन्त्री ओलीलाई अधिकार दिनुभएको छ,’ बैठकपछि सचिवालयका एक नेताले जनताटाइम्सलाई भने ।

स्रोतका अनुसार पाँच बाट बढेर सात जना मन्त्री हटाउने सूचीमा परिसकेका छन । यो संख्इा ९ देखि १३ सम्म पुग्न सक्ने स्रोतका भनाई छ । यस्तै ओली सरकारमा हाल रहेका सात मन्त्री भने नहटाउने सहमति भइसकेको छ । कामको आधारमा ती मन्त्रीहरु नहटाउने जनाउ प्रधानमन्त्री ओलीले अध्यक्ष प्रचण्डलाई गराउनु भएको हो । हटने मन्त्रीको सूचीमा उद्योगमन्त्री यादव र कृषिमन्त्री खनाल रहेको घोषणा स्वयं उहाँहरुले नै गरिसक्नु भएको छ । अन्य मन्त्रीको बिषयमा भने नाम बाहिर ल्याइएको छैन ।प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद बैठकमै मन्त्रिपरिषद पुनर्गठन गर्ने जानकारी दिएलगत्तै उद्योगमन्त्री यादव र कृषिमन्त्री खनालले आफूहरु मन्त्रीबाट बाहिरिने निश्चित भएको जानकारी दिनुभएको हो ।

दुवै मन्त्रीले दिएको जानकारीअनुसार पार्टी अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले मन्त्रिपरिषद पुनर्गठन हुन लागेको र नयाँ मन्त्रिमण्डलमा खनाल र यादव नपर्ने जानकारी गराउनु भएको हो । ‘मन्त्रिपरिषद पुनर्गठन हुँदा म र मातृका यादव हटने कन्फर्म हो, केही समयदेखि कुरा मिलिरहेको थिएन,’ प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद पुनर्गठनको गृहकार्यबारे जानकारी गराएको भोलिपल्ट आज सञ्चारमाध्यममा कृषिमन्त्री खनालले भन्नुभयो । यस्तो उद्योगमन्त्री यादवले पनि आफू हटने जानकारी पाइसकेको पुष्टि गर्नुभयो ।