काठमाडौं, असोज १ । संयुक्त अरब इमिरेट्स (यूएई)ले नेपाली नागरिकका लागि कामदार (वर्किङ) भिसा बन्द गरेको छ । सोमबारबाट नेपालीका लागि भिजिट भिसा बन्द गरेको यूएईले वर्किङ भिसा पनि बन्द गरेको हो ।
नेपालमा जेन-जी आन्दोलनका क्रममा तोडफोड, आगजनी तथा लुटपाटका घटनाको अनुसन्धान सुरु भएको र जेलबाट ठूलो संख्यामा कैदी भागेपछि यूएईले कामदार एवं भिजिट भिसा बन्द गरेको जनाइएको छ ।

पछिल्लो समय युएई नेपालीका लागि सबैभन्दा बढी आकर्षक गन्तब्य हो । ठूलो संख्यामा भिजिट भिसामा नेपाली यूएई जाने गरेका थिए । दुबईस्थित विभिन्न कम्पनीहरूले भिसा टाइपिङ गर्ने क्रममा आवेदन दिन नसकेको र पहिले नै टाइप भएका भिसासमेत रद्द हुन थालेको जानकारी दिएका छन ।
नेपाली कामदार ई-७ भिसामा कोरिया जान नपाउने
ई–७ भिसामार्फत नेपाली कामदार कोरिया जान नपाउने भएका छन । वैदेशिक रोजगार विभागले मंगलबार सूचना जारी गरेर गणतन्त्र कोरियामा सीपयुक्त श्रमिक पठाउनेसम्बन्धी कार्यविधि, २०८० कार्यान्वयन नहुने बताएसँगै ई–७ भिसामा कोरिया जाने बाटो बन्द भएको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट उक्त कार्यविधि कार्यान्वयन नगर्न निर्देशन आएको विभागले जनाएको छ । हाल रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत नेपाली कामदार कोरिया जाने गरेका छन्।













प्रतिक्रिया दिनुहोस्