काठमाडौं, असोज ४ । प्रवासमा रहेका नेपालीहरूले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि एकजुट बन्ने अठोट गरेका छन् । प्रवासी नेपाली मञ्च (ओएनएफ) अन्तराष्ट्रिय कमिटीले संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा शुक्रवार राती आयोजना गरेको विस्तारित बैठक तथा अन्तरक्रियामा सहभागी प्रवासी नेपालीका नेताहरूले यस्तो अठोट गरेका हुन् ।
ओएनएफ अन्तराष्ट्रिय कमिटीले नेकपा एमालेका महासचिव शंकर पोखरेललाई प्रमुख वक्ता बनाएर शुक्रवार लामो अन्तरक्रिया गरेको हो । सो अवसरमा प्रवासमा रहेका नेताहरूले विश्वको जुनसुकै कुनामा रहेको भए पनि प्रवासी नेपालीहरू मातृभूमि नेपालप्रतिको अगाध मायासहित समृद्धिको चाहनामा रहेको भन्दै गणतन्त्रबाटै ती सबै काम सम्भव हुने निष्कर्ष सुनाए ।
‘नेपालमा भदौ २३ र २४ गते जे–जस्ता घटनाहरू भए, त्यसले विश्वभर नेपालप्रति नकारात्मक छाप छाडेको छ । आगजनी, तोडफोड र लुटपाट अनि जेलबाट कैदी भगाइएको कुराले अपराध बढ्ने त्रास छ, यो अवस्थालाई सहज निकास दिन सबै एकजुट बनेर गणतन्त्र र संविधान जोगाउन जरुरी छ भन्ने अधिकांश वक्ताको भनाई रह्यो, नेपालको विकास र समृद्धि गणतन्त्रमा मात्र सम्भव छ भन्ने निष्कर्ष निकालियो,’ बैठकका निष्कर्ष सुनाउँदै जनताटाइम्स डटकमसँग प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका उपसचिव एवं प्रचार विभाग प्रमुख चानक पोखरेलले भन्नुभयो ।
प्रचार विभाग प्रमुख पोखरेलका अनुसार बैठकमा सहभागी सबैले राष्ट्रियताको विषयमा चट्टानी अडान लिँदै नेकपा एमाले र यसका नेताहरू टार्गेटमा परेको र आगजनी गराइएको धारणा राख्दै पार्टीभित्र कार्यकर्ता तहको कुरा सुन्ने परिपाटिका विकास गर्दै अगाडि बढ्न सुझाव पनि दिएका छन् । सत्तामा पुगेपछि जनता र कार्यकर्ता पङ्गति बर्सिने काम विगतमा भएको भन्दै वक्ताहरूले अव त्यस्तो गल्ती दोहोरिन नहुनेमा पनि जोड दिएका छन् ।
प्रचार प्रमुख चानक पोखरेलका अनुसार विस्तारित बैठकमा बोल्दै एमाले महासचिव शंकर पोखरेलले जेन–जी पुस्ताको समस्यालाई सबैभन्दा पहिला पहिचान गरेर नेकपा एमालेले नै पहलकदमी लिएको तर आन्दोलनमा घुसपैठ भएको देशद्रोही र आपराधिक तत्त्वहरूले एमालेमाथि नै निसाना बनाएको तथ्य सविस्तार राख्नुभयो । महासचिव पोखरेलले एमालेले सबै कुराको समीक्षा गरेर उपयुक्त निष्कर्षका साथ अघि बढ्ने भन्दै आक्रमण भयो, प्रतिकुलता देखियो भनेर नतर्सन र मनोबल कमजोर नपारी अघि बढ्न जरुरी रहेको धारणासमेत राख्नुभएको छ ।
‘एमाले सदैव समीक्षा गरेर आफैभित्र भएको गल्ती र कमी–कमजोरीहरू पहिचान गरी सच्याउँदै अघि बढ्दै आएको पार्टी हो । मिसन ग्रासरुटदेखि अन्य सबै योजनाहरू समीक्षाकै आधारमा अघि बढाइएको थियो । युवा पुस्तामा देखिएको फ्रस्टेसन पनि जानकारी भएर नै हामीले पहलकदमी गरेका हौँ तर कतिपय कुरा योजना बन्यो, निर्णय भयो, कार्यान्वयनमा जाँदा हुन सकेन, अव त्यो रोगको पनि उपचार गरिने छ,’ बैठकमा महासचिव पोखरेलको भनाई थियो ।
बैठकमा प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापाले प्रवासीहरू नेपालको विकास र समृद्धि नेकपा एमालेबाट मात्रै सम्भव छ भन्नेमा दुबिधा नरहेको भन्दै अव फेरिएको परिस्थितिअनुसार अनुकूलतामा ढाल्ने गरी अघि बढ्न पार्टी नेतृत्वलाई सुझाव दिनुभयो । भदौ २३ र २४ गते भएको आन्दोलनको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै थापाले ओएनएफका विश्वभर रहेको नेता–कार्यकर्ताहरू एकाधबाहेक सबै बिचार र समृद्धिको पक्षमा दृढतापूर्वक उभिएको जानकारी पनि गराउनु भयो ।
‘नेपालको समृद्धि र विकास एमालेबाट मात्रै सम्भव छ भन्ने कुरामा कसैको विमति छैन । हामी हाम्रो कार्यशैलीमा सुधार र कार्यकर्ता तहको कुरा सुन्ने काम विगतमा अलिक कमी भएको महसुस गरेका छौँ, अव त्यो कामलाई प्राथमिकता दिएर हाम्रो पार्टी कार्यालय जलाउनेहरूलाई फेरि जनताको बलमा देशको नेतृत्व गरेर दिनुपर्छ,’ थापाको भनाई थियो ।
बैठकमा प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटी मातहत रहेका पाँच वटै महादेश कमिटीका अध्यक्ष र इन्चार्जले आफ्नो रिपोर्टिङ गरेका थिए । बैठकमा अमेरिका महादेश कमिटीका अध्यक्ष ईश्वरी भट्ट, युरोप अध्यक्ष मुक्त गुरुङ, ओसियाना अध्यक्ष राजु उपाध्याय, पूर्वएसिया अध्यक्ष मोहन रायमाझी र मध्यपूर्वका सचिव सोम श्रेष्ठले आफ्नो महादेशको प्रतिवेदन प्रस्तुत गर्नुभएको हो ।
बैठकलाई एमाले केन्द्रीय सदस्य तथा अमेरिका–युरोप महादेश इञ्चार्ज घनश्याम पाण्डेले प्रतिकुल परिस्थितिलाई सहज बनाउन प्रवासबाट निर्णायक भूमिका आवश्यक रहेको भन्दै सोहीअनुसार अघि बढ्न आग्रह गर्नुभएको थियो ।
बैठकमा प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका पदाधिकारी, सचिवालय सदस्य, अन्तराष्ट्रिय कमिटी सदस्य, महादेश कमिटीका पदाधिकारी तथा सदस्य र राष्ट्रिय कमिटीका पदाधिकारी गरी २ सय ७५ भन्दा बढीको सहभागिता रहेको प्रचार विभाग प्रमुख तथा उपसचिव चानक पोखरेलले बताउनु भयो ।













प्रतिक्रिया दिनुहोस्