देशलाई दशकौंसम्म चाहिने भौतिक संरचना,सार्वजनिक सम्पत्ति र निजी सम्पत्ति निर्माण गर्ने र ती संरचनामा आगो लगाउने यहीं छन् । ती संरचना बनाउने हात र जलाउने हात समयले छुट्याउने छ । बनाउने सही कि जलाउने सही त्यसको छिनोफानो पनि हुँदै जाला। प्रष्टै छ, बनाएकाहरूले जलाएनन्, जलाउनेहरूले फेरि यो बनाउँदैनन् । देश जलाउनेलाई त कसरी नेपाली भन्न सकिन्छ र भन्ने प्रधानमन्त्री सुशीला कार्कीलाई नेपाली र अनेपाली छुट्याउने सफलता मिल्ला नै ।
निर्मल भट्टराई
दार्शनिक कार्ल मार्क्स भन्दथे- मानव चेतनाको निर्धारण वरिपरिको भौतिक अवस्था र वातावरणले निर्धारण गर्दछ । यो दृष्टिकोणबाट नेपालको जेन्जी आन्दोलनको अगाडि र पछाडिको अवस्थालाई नियाल्दा के कस्ता परिदृश्य देखिन्छन् ? आम नेपाली जनता र राजनीतिक पार्टीको चेतनामा के-के बदलाव आयो होला? सकारात्मक कि नकारात्मक परिवर्तन भयो होला ? यक्षको एउटा प्रश्न-‘राज्यको विनाश के कारणले हुन्छ?’मा युधिष्ठिरले भनेका थिए-‘अराजकताको कारणले’। अहिले देखा परेको विध्वंसको जरो अराजकता हो भन्ने हो भने यसको नियन्त्रणमा क-कसको मुख्य जिम्मेवारी हुने हो ?
आन्दोलन अघि
नेपालका राजनीतिक पार्टीहरू संसदीय आम निर्वाचनको स्वभाविक मिति ०८४ को तयारी गर्दै थिए । साना-ठूला सबै दलहरू अबको चुनाबमा आफ्नो दलले बहुमत ल्याउने दाबी गर्दै थिए । संविधान संशोधन गरिने चर्चा गरिंदै थियो । सत्तापक्ष र प्रतिपक्ष दुबै भ्रष्टाचारप्रति शून्य सहनशीलता र सुशासनको आफूमात्र मसिहा भएको दलिल पेश गर्दै थिए। एक अर्कोलाई गणतन्त्रविरोधी, भ्रष्टाचारी, विचौलिया, प्रतिगमनकारी, संविधानविरोधी,दक्षिणपन्थी, अराजक, दम्भी, विभाजनकारीजस्ता विशेषणले आरोप-प्रत्यारोप र कटाक्ष गरिंदै थियो ।
सहकारी ठगी सम्बन्धमा मुद्धा चल्दै थियो। सहकारी ठगी प्रकरणमा रास्वपा सभापति रवि लामिछाने र अरू हाइ प्रोफाइल पनि थुनामा पठाइएका थिए । मुध्दाको सिलसिलामा पुर्पक्षका लागि थुनामा रहेका रविलाई राजनीतिक प्रतिशोध भयो भनेर देशभर हस्ताक्षर सङ्कलन हुँदै थियो । सहकारी नियमन गर्न विभिन्न नयाँ-नयाँ सरकारी निकाय गठन हुँदै थिए ।
शेरबहादुर देउबाको नेतृत्वमा रहेको नेपाली कांग्रेस उनकै इच्छा वरिपरि घुमिरहेको थियो । दश महिनापछि के पी ओलीबाट प्रधानमन्त्री पद प्राप्त गर्ने र अर्को निर्वाचनसम्म प्रधानमन्त्री बन्ने योजना थियो । यही अवधिमा पार्टीको महाधिवेशन गरेर आफू र आफ्नालाई फेवरेवल नेतृत्व बनाइ दिएर विश्राम लिने देउबाको योजना थियो।
एमालेले आफ्नो दोस्रो विधान महाधिवेशन सकेको थियो । अर्को एक कार्यकालको लागि के पी ओलीकै नेतृत्वमा पार्टी अगाडि बढ्ने वैधानिक चाँजोपाँजो मिलाएको थियो । ओली नेतृत्वको अघिल्लो सरकारले सम्पूर्ण प्रक्रिया पूरा गरेर प्रचलनमा ल्याएको नेपालको चुच्चे नक्साभित्र पर्ने लिम्पियाधुरा, लिपुलेक र कालापनी क्षेत्रमा नेपालको सहमतिबेगर ब्यापारिक नाका खोल्ने भारत र चीनको सम्झौताप्रति चिनियाँ नेतृत्वसँग औपचारिक असहमति जनाएर आएका र लगत्तै तय भएको भारत भ्रमणमा भरतीय पक्षसँग सीमासम्बन्धी विषय उठान गर्ने निर्णय गरेका आफ्ना अध्यक्ष तथा प्रधानमन्त्री के पी शर्मालाई एमालेको विधान महाधिवेशनले आफ्नो सम्पूर्ण सहमति र समर्थन दिएको थियो । अर्बौं नाफा कमाउने सामाजिक सञ्जाललाई देशको ऐन कानुनबमोजिम दर्ता प्रक्रियामा ल्याउन र तोकिएबमोजिमको कर तिर्न आग्रह गर्ने र नियमन गर्ने सरकारी कदममा पार्टीको कुनै असहमति थिएन। सरकारको सो कदमलाई एमालेले देशभक्तिपूर्ण कदमको रूपमा लिएको थियो।
पार्टी नेतृत्वप्रति आलोचक जनार्दनलाई साइजमा ल्याएर भए पनि प्रचण्डको नेतृत्वलाई कायमै राखेर नेकपा(माओवादी केन्द्र) अगाडि बढ्ने तयारीमा थियो । सत्तापक्ष र प्रतिपक्षमा विभाजित अरू साना दलहरू आन्तरिक शक्ति सङ्घर्षमा रूमलिएको अवस्था थियो ।
रेमिट्यान्स वृध्दिको निरन्तरता, विदेशी मुद्राको उल्लेख्य संचिति,दैलेखमा देशलाई पचास वर्ष पुग्ने पेट्रोलियम पदार्थको अन्तिम अन्वेषण, पहिलो सुरूङ मार्ग निर्माणको अन्तिम चरण,०७२को विनाशकारी भूकम्पबाट क्षतिग्रस्त सिंह दरवारको प्रमुख प्रशासकीय भवन लगायतका सरकारी भवनको अत्याधुनिक पुनर्निर्माण र जीर्णोद्वार, धरहरालगायतका ऐतिहासिक र सांस्कृतिक सम्पदाको पुनर्निर्माण र जीर्णोद्वार, प्रदेशसभा, पालिका र वडामा समेत अत्याधुनिक मिनी ‘सिंहदरवार’ भवन देशका सकारात्मक पक्ष थिए ।
पार्टीहरू विधिसम्मत नचलेको, नेतृत्वमा पुस्तान्तरण र पुनर्ताजकी नभएको,कतिपय अवस्थामा सिन्डिकेट कायम गरिएको, सबैजसो पार्टीमा स्वार्थ समूह हाबी हुँदै गएको,जनतामा गरिएका वाचा भुलेर दलाल-पुँजीपति-विचौलियाको प्रभावमा नेतृत्व पर्ने गरेको,युवाकेन्द्रित कार्यक्रम र उद्यमशशीलता नहुँदा युवाहरू विदेश पलायन हुनुपरेको, राज्यका उपरी संरचनादेखि स्थानीय तहमा भ्रष्टाचार झाँगिदै गएको, भारी भरकम प्रादेशिक संरचना आवश्यक नभएको जस्ता आलोचना राज्य सञ्चालकहरूलाई लाग्दै आएको थियो ।
बानेश्वरको निषेधाज्ञा तोडेको र संसद भवनतर्फ लागेपछि सुरक्षाकर्मीले बल प्रयोग गर्दा करिब दुई दर्जन आन्दोलनकारीको ज्यान गयो । प्ले कार्ड र कलेज ड्रेसका जेन-जी युवा विद्यार्थीबाट सुरू भएको आन्दोलन एकाएक लाइटर, सलाई र पेट्रोल बोकेर अगाडि बढेको २४ गतेको आन्दोलनले संसदमा झण्डै दुइ-तिहाइ बहुमतको समर्थन प्राप्त निर्वाचित सरकारको पतनमात्र भएन, विनाशकारी भूकम्पले क्षतविक्षत् भएर भर्खर सही सलामत ठडिएका अधिकांश ठूला-साना सिंहदरवार जले, अपुरणीय भौतिक क्षति भयो

आन्दोलन पछि
सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्ध फुकुवा र भ्रष्टाचारको विरोध गर्ने नाराका साथ भदौ २३ गते जेनजीहरू सडकमा उत्रिए । बानेश्वरको निषेधाज्ञा तोडेको र संसद भवनतर्फ लागेपछि सुरक्षाकर्मीले बल प्रयोग गर्दा करिब दुई दर्जन आन्दोलनकारीको ज्यान गयो । प्ले कार्ड र कलेज ड्रेसका जेन-जी युवा विद्यार्थीबाट सुरू भएको आन्दोलन एकाएक लाइटर, सलाई र पेट्रोल बोकेर अगाडि बढेको २४ गतेको आन्दोलनले संसदमा झण्डै दुइ-तिहाइ बहुमतको समर्थन प्राप्त निर्वाचित सरकारको पतनमात्र भएन, विनाशकारी भूकम्पले क्षतविक्षत् भएर भर्खर सही सलामत ठडिएका अधिकांश ठूला-साना सिंहदरवार जले, अपुरणीय भौतिक क्षति भयो।
धुँवाको मुस्लोले राजधानी काठमाण्डौ ढपक्क ढाकेको बेला नयाँ सरकार बनाउन संविधानले व्यवस्था गरेको धारा उपधाराभन्दा फरक धारा उपधाराको प्रयोग गरेर आवश्यकताको सिध्तान्तअनुसार ‘जेनजीको भावना र मागबमोजिम’ ७३ वर्षीय जेन एक्स सुशीला कार्की अन्तरीम प्रधानमन्त्री नियुक्त भइन्, प्रतिनिधिसभा विघटन गरिन् र आगामी फागुन २१ निर्वाचनको घोषणा गरिन् । अहिले ‘जेनजीको भावना र मागबमोजिम’ धमाधम जेन एक्स मन्त्रीहरू थपिंदैछन् । सोहीबमोजिम मन्त्रीपरिषद्ले पूर्णता पाउने छ।
आन्दोलनको आगोले देशका महत्वपूर्ण भौतिक संरचनामात्र जलेर खाग भएनन्, हरेक पार्टीको नेतृत्व तहमा रहेको दम्भ, अहंकार र खराब कार्यशैलीलाई समेत केही मात्रामा डढाएर ध्वस्त पारिदिएको छ । अबको चुनौति सामना गर्न नयाँ नेतृत्वपुञ्ज, नयाँ कार्यशैली र भिजन आवश्यक छ । पार्टीमा आमूल सुधार नआए जेनजी आन्दोलनको कारण घाइते भएको लोकतन्त्र झन खतरामा पर्ने निश्चित छ। सुरूमा भनिएझैं भौतिक बस्तु र परिस्थिति अनुसार मानव चेतनाको निर्धारण हुने भए जेनजी आन्दोलन अघि र पछि नपाली चेतनामा आमूल परिवर्तन आएको हुनुपर्छ । उच्च चेतनाले मात्र अग्रगमन संभव छ । तर जसजति आफ्नो भागमा र अपजसजति अर्काको भागमा राखिदिने हिजोको तुच्छ परम्परा दोहोरिएमा दुर्भाग्यमात्र हुनेछ । लोकतन्त्रको धरोहर पार्टीहरू र तिनीहरूको नेतृत्व तहबाट जनताले देख्ने गरी सच्चिने र सुध्रने साहस समयमा पैदा हुन नसके नेपाली जनता र लोकतन्त्रको अझ भयानक अवस्था नआउला भन्न सकिन्न ।
निष्कर्ष
देशलाई दशकौंसम्म चाहिने भौतिक संरचना,सार्वजनिक सम्पत्ति र निजी सम्पत्ति निर्माण गर्ने र ती संरचनामा आगो लगाउने यहीं छन् । ती संरचना बनाउने हात र जलाउने हात समयले छुट्याउने छ । बनाउने सही कि जलाउने सही त्यसको छिनोफानो पनि हुँदै जाला। प्रष्टै छ, बनाएकाहरूले जलाएनन्, जलाउनेहरूले फेरि यो बनाउँदैनन् । देश जलाउनेलाई त कसरी नेपाली भन्न सकिन्छ र भन्ने प्रधानमन्त्री सुशीला कार्कीलाई नेपाली र अनेपाली छुट्याउने सफलता मिल्ला नै ।
(लेखक भट्टराई एमाले केन्द्रीय सदस्य हुनुहुन्छ–सं)













प्रतिक्रिया दिनुहोस्