काठमाडौं, भदाै २४। रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको बाढीपछि राहत तथा उद्धारका लागि आह्वान गरिएको प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ मौज्दात रहेको छ।
कोषमा हाल ११ अर्ब ९८ करोड ९७ लाख ९६ हजार ८४ रुपैयाँ मौज्दात रहेको जनाइएको छ। उक्त रकममध्ये विभिन्न नौ वटा वाणिज्य बैङ्कमा रहेको खातामा मात्रै ८ अर्ब ७८ करोड ८२ लाख ५८ हजार ३०४ रुपैयाँ जम्मा भएको छ। यस्तै, दुई वटा वाणिज्य बैङ्कमा रहेको कोषको खातामा २ करोड ११ लाख ४३ हजार ४२७ अमेरिकी डलर मौज्दात रहेको छ। नेपाली रुपैयाँ र अमेरिकी डलरमा रहेको रकमलाई जोड्दा प्रधानमन्त्री राहत कोषमा राहत तथा उद्धारका लागि उल्लेख्य रकम सङ्कलन भएको देखिन्छ।
भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि प्रधानमन्त्री राहत कोषबाट १ अर्ब रुपैयाँ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई निकासा भइसकेको छ।
बाढीपछि सरकारले प्रभावित नागरिकलाई राहत तथा पुनर्स्थापनाका लागि सहयोग गर्न सार्वजनिक आह्वान गरेको थियो। सरकारको उक्त आह्वानपछि स्वदेश तथा विदेशबाट विभिन्न व्यक्ति, संस्था तथा निकायबाट सहयोग रकम सङ्कलन भई प्रधानमन्त्री राहत कोषमा दाखिला भएको हो।
सरकारले बाढी तथा अन्य विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि कोषमा जम्मा भएको रकम परिचालन गर्दै आएको छ। पछिल्लो विवरणअनुसार कोषमा अझै ठुलो रकम मौज्दात रहेकाले विपद् प्रभावित क्षेत्रमा आवश्यकताअनुसार राहत तथा पुनर्स्थापनाका लागि थप रकम परिचालन गर्न सकिने अवस्था देखिएको छ।














प्रतिक्रिया दिनुहोस्