जनता टाइम्स

४ आश्विन २०८२, शनिबार २१:४१

 इतिहास फेरी बनाउन सकिँदैन, खरानी मात्र बाँकी रह्यो :  राधिका शाक्य


काठमाडौं, असाेज ४ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकी धर्मपत्नी राधिका शाक्यले जेनजी आन्दोलनका क्रममा आगजनी गरिएको बालकोटस्थित घरको अवलोकन गर्नुभएको छ।

शाक्यले उक्त घरलाई आफूले संग्राहलयका रूपमा नयाँ पुस्तालाई छोड्ने योजना बनाएको तर अब खरानी मात्र बाँकी रहन गएको बताउनुभयो। जलेका पुस्तकका खरानीको टिका लगाउँदै उहाँले घरभित्र पुस्तक, अध्यक्ष ओलीलाई देश–विदेशबाट प्राप्त सम्मानपत्र र बहुमूल्य वस्तुहरू जतन गरेर राखिएको स्मरण गर्नुभयो।

‘मलाई यो घर व्यवस्थित गर्न ६ महिना लाग्यो, एउटा कोठामा स्वदेशबाट प्राप्त सम्मानपत्र र मायाका चिनो थिए भने अर्को कोठामा चीन, कम्बोडिया, भारत, भियतनाम, जापानलगायत देशका प्रधानमन्त्रीहरूले दिएका अमूल्य सामान दराजमा राखिएका थिए’, उहाँले भन्नुभयाे ।

उहाँले घर फेरि बनाउन सकिए पनि इतिहास फेरि बनाउन नसकिने उल्लेख गर्नुभयो।‘बालुवाटार हुँदा पनि साता–दश दिनमा यहाँ आइपुग्थेँ, सामान मिलाउने र सफाइ गर्ने काम गर्थेँ, मेरो पसिना र श्रम परेको थियो’, उहाँले भन्नुभयाे ।

जेनजी आन्दोलनका क्रममा अराजक समूहहरूले अध्यक्ष ओलीका बालकोटस्थित घरमा आगजनी गरेका थिए। नयाँ पुस्तालाई सग्लाे घर हस्तान्तरण गराैँला भन्ने ठानेकाेमा खरानी बनाइदिएका उहाँले बताउनुभयाे ।