काठमाडौं, असोज ५ । नेपाली कांग्रेसका प्रवक्ता डाक्टर प्रकाशशरण महतले महामन्त्री गगन थापालाई कठोर जवाफ फर्काउनु भएको छ ।
जेनजी आन्दोलनकारीको निर्मम आक्रमणमा घाइते भइ उपचाररत रहनुभएका सभापति शेरबहादुर देउवाको बिकल्प तत्काल खोज्ने भन्दै थापा लागेको जनाई महतले अमानवीयको संज्ञासमेत दिनुभएको छ ।
पार्टीका ‘अभिभावक’ (सभापति) माथि साङ्घातिक आक्रमण हुँदा र उपचार भइरहेका बेला नेतृत्व परिवर्तनको बहस चलाउनु उचित नभएको महतको भनाई छ । आइतबार पत्रकार सम्मेलन गर्दै महतले ‘जेनजी आन्दोलन’पछि उठेको नेतृत्व परिवर्तनको मागप्रति असन्तुष्टि व्यक्त गर्नुभयो ।
डा. महतको यो भनाइ कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई लक्षित थियो। उहाँहरूले विशेष महाधिवेशनमार्फत नेतृत्व परिवर्तन गर्नुपर्ने प्रस्ताव अघि सार्नुभएको छ । ‘अभिभावकमाथि साङ्घातिक प्रहार हुँदा उपचार पनि पूरा हुन पर्खन पनि सक्दैनौँ ? आकाश झरिहाल्छ ?,’ महतले प्रश्न गर्नुभयो ।
महतले पार्टीको आन्तरिक संरचनामा छलफल गर्न सकिने र घटनाको मूल्याङ्कन तथा सुधार गर्न सकिने बताउनुभयो । तर त्यसका लागि उचित समय कुर्नुपर्ने उहाँको भनाइ छ। उहाँले यस्तो बेला नेतृत्व हस्तान्तरणको बहसले देशलाई थप अस्थिरतातर्फ धकेल्ने दाबी गर्नुयभो।
उहाँले घाउमा नुन छर्कने काम नगर्न आग्रह गर्दै सबैलाई सन्तुलित र संयमित भएर सामूहिक निष्कर्षमा पुग्न अनुरोध गर्नुभयो । डा. महतले अहिले प्रश्न उठाउनेहरू सभापति देउवाससँग सबैभन्दा नजिक रहेका व्यक्तिहरू नै भएको बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्