काठमाडौं, असोज ६ । नवनियुक्त सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल र शिक्षामन्त्री डा. महावीर पुनले सचिवले ल्याएको प्रस्तावमा हस्ताक्षर गर्न अस्वीकार गर्नुभएको छ ।
पद बहालीमा हस्ताक्षर गरी निर्णय लिनुपर्ने परम्परागत मान्यताअनुसार सचिवले पद बहालीमा तयार पारेर ल्याएको प्रस्ताव दुवै मन्त्रीले अस्वीकार गर्नुभएको हो ।
पदभार ग्रहणपछि कर्मचारीले ल्याएको पहिलो निर्णयमा सञ्चार मन्त्री खरेलले हस्ताक्षर गर्न मान्नुभएन । उहाँले अर्को प्रस्ताव तयार गर्न निर्देशन दिनुभयो ।
यस्तै नवनियुक्त शिक्षामन्त्री महावीर पुनले पदभार ग्रहण गर्दा हस्ताक्षर गर्न अस्वीकार गर्नुभयो । पदभार ग्रहणपछि मन्त्रीलाई पहिलो निर्णयमा हस्ताक्षर गराउने प्रचलन छ । तर, मन्त्री पुनले पहिलो निर्णयमा हस्ताक्षर नै गर्न मान्नुभएन ।
मन्त्रालयले वैज्ञानिकहरूको एउटा समिति बनाउने निर्णयमा मन्त्रीको सही गराउन खोजेको थियो । तर, मन्त्री पुनले यस्ता समिति कति बन्छन् कति भनेर हस्ताक्षर नगर्ने अडान लिनुभयो । त्यसपछि कर्मचारीहरूले यो प्रक्रियागत कुरा भएको भन्दै निकै बेर सम्झाएपछि उहाँ तयार हुनुभएको थियो ।
‘अहिले हस्ताक्षर चैँ गर्छु, तर, यो निर्णयलाई पछि मेरो टिमले हेर्नुपर्छ,’ पुनले भन्नुभयो । दुवै मन्त्रीको यो कामलाई कर्मचारी तर्साउने र सुध्रनका लागि दिइएको सचेतका रूपमा लिइएको छ ।













प्रतिक्रिया दिनुहोस्