जनता टाइम्स

५ मंसिर २०७६, बिहीबार १४:२२

पर्याप्त कार्यसूचि नहुँदा कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन अनिश्चित


सुर्खेत, मंसिर ५

संसद् बैठकका लागि पर्याप्त कार्यसूचि (विजनेस) नहुँदा कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन ढिला शुरु हुने भएको छ । मन्त्रालयमा विधेयक मस्यौदाकै चरणमा रहेकाले तत्काल हिउँदे अधिवेशन आह्वानको सम्भावना नरहेको सरकारले जनाएको छ । कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले हिउँदे अधिवेशन ढिला शुरु हुने बताउनुभयो । “विधेयक ड्राफ्ट हुँदैछन्, यसपटक ढिला शुरु हुन्छ होला,” उहाँले भन्नुभयो ।

प्रदेश सरकार (मन्त्रिपरिषद्को) सिफारिसमा प्रदेश प्रमुखले प्रदेशसभाको अधिवेशन आह्वान र अन्त्य गर्ने संवैधानिक प्रावधान छ । कर्णाली प्रदेशसभाको वर्षे (बजेट) अधिवेशन गत असोज १० गते अन्त्य भएको थियो । संसद् अधिवेशन शुरु नहुँदा सांसदहरु फुर्सदिला बनेका छन् । चाडपर्व मनाउन गएका सांसदहरु यतिबेला संसद् बैठकको पर्खाइमा प्रदेश राजधानी आउनेक्रम बढेको छ । यस अवधिमा सभामुख राजबहादुर शाही, उपसभामुख पुष्पा घर्ती विष्टसहित प्रदेशसभाका केही सदस्यहरुले अन्तर प्रदेश भ्रमण गर्नुभयो ।

उहाँहरुले प्रदेश ५ हुँदै प्रदेश १ सम्म पुगेर त्यहाँका प्रदेशसभाले गरेका कामकारवाहीको अध्ययन अवलोकन गर्नुभएको थियो । कतिपय सांसदहरु आआफ्नो निर्वाचन क्षेत्रका जनताका भेटघाट गर्नुका साथै प्रदेश सरकारबाट सञ्चालित योजनाको अनुगमन गरी फर्किएका छन् । दैलेख १ (क) बाट प्रतिनिधित्व गर्नुहुने प्रदेशसभा सदस्य धर्मराज रेग्मीले निर्वाचन क्षेत्रका सबै गाउँबस्ती घुमेर जनताको आवश्यकता र विकास निर्माणको अनुगमन गरी फर्किएको जानकारी दिनुभयो । कर्णाली प्रदेशसभामा विपक्षी दलका नेता जीवनबहादुर शाही भने उपनिर्वाचनको प्रचारप्रसारका लागि गृह जिल्ला हुम्लामै व्यस्त हुनुहुन्छ ।

उहाँ आफैँ मतदाता रहेको खार्पुनाथ गाउँपालिकामा आगामी मङ्सिर १४ गते उपाध्यक्ष पदका लागि उपनिर्वाचन हुँदैछ । मतदान गरेर प्रदेश राजधानी वीरेन्द्रनगर फर्कने नेता शाहीले बताउनुभयो । सभामुख राजबहादुर शाहीले संसद् अधिवेशन बोलाउने सरकारको निर्णयकै पर्खाईमा रहेको बताउनुभयो । सरकारले अधिवेशन आह्वान गरेलगत्तै सचिवालयमा दर्ता भएका विधेयकबारे प्राथमिकताका आधारमा बैठकमा छलफल हुने उहाँको भनाइ छ ।