काठमाडौं, असोज ७ । नेपाल टेलिकमले नेपालीहरूको महान् चाड दसैँ, तिहार तथा छठ लगायतका विभिन्न पर्वहरूको अवसरमा आफ्ना ग्राहकहरूका लागि दसैँ-तिहार-छठ अफर उपलब्ध गराएको छ। सो अफर अन्तर्गत एफटीटीएच प्याकेज जडानमा छुट सहित मोबाइल सेवामा सहुलियत दरका भ्वाइस तथा डाटा प्याकेजहरू २०८२ असोज ०६ गतेदेखि प्रारम्भ हुनेछन् ।
यस अफर अन्तर्गत असोज ६ गतेदेखि ३१ गतेसम्म नयाँ एफटीटीएच प्याकेज जडान गर्ने ग्राहकहरूलाई जडान शुल्क ५ सय रुपैयाँ मिनाहा गरिएको छ । यसै गरी दसैँ-तिहार-छठ अफर अन्तर्गत नै जीएसएम सेवाका ग्राहकहरूका लागि ४९९ रुपैयाँमा ५ जीबी फेस्टिभल अनलिमिटेड र ६९९ रुपैयाँमा १० जीबी फेस्टिभल अनलिमिटेड प्रिमियम डाटा प्याकेज उपलब्ध गराइएको छ ।
फेस्टिभल अनलिमिटेड प्याकेज खरिद गर्ने ग्राहकले प्रतिदिन Fair Usage Policy (FUP) मा तोकिएको ५ जीबी डाटा भोल्युम खपत भरसकेपछि बाँकी समयावधि २ एमबीपीएस गतिमा र फेस्टिभल अनलिमिटेड प्रिमियम प्याकेज खरिद गर्ने ग्राहकले प्रतिदिन Fair Usage Policy मा तोकिएको १० जीबी डाटा भोल्युम खपत भरसकेपछि बाँकी समयावधि ३ एमबीपीएस गतिमा अनलिमिटेड डाटा प्रयोग गर्न सक्नेछन् ।
साथै २५० रुपैयाँमा १००० मिनेट अल नेट भ्वाइस सुविधा सहितको जोयफूल मिनेटस् र ९९ रुपैयाँमा १००० अन-नेट एसएमएस सुविधाको फेस्टिभल म्यासेज प्याकेज समेत सञ्चालनमा ल्याइएको छ । यी सबै प्याकेजहरूमा प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनको समयावधि तोकिएको टेलिकमका प्रवक्ता रविन्दी मानन्धरले जनाउनु भएको छ ।
जीएसएम सेवाका प्याकेजहरू असोज ६ गतेदेखि असोज २० गतेसम्म र कार्तिक १ गतेदेखि कार्तिक १० गतेसम्म खरिद गर्ने ग्राहकहरूका लागि लागू हुनेछ । आफ्नो मोबाइलबाट *1415*11# डायल गरेर वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरेर यी प्याकेजहरू खरिद गर्न सकिनेछ ।
विभिन्न पर्वहरूका अवसरमा उपलब्ध गराइने यस प्रकारका अफरहरूले चाडपर्वको समयमा अझ बढी सम्पर्कमा रहन, आफन्तसँग खुसी बाँड्न र डिजिटल सेवाहरूको प्रयोग बढाउन प्रोत्साहित गर्ने विश्वास कम्पनीको रहेको छ ।













प्रतिक्रिया दिनुहोस्