काठमाडौं, असोज ७। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले आज तीनवटा ठोस कदम अगाडि बढाउन निर्देशन दिनुभएको छ। विद्यार्थीको हित, पठनपाठनको सहजता र विश्वविद्यालयको व्यवस्थापन सुधारलाई लक्षित गर्दै उहाँले तत्काल लागू गर्नुपर्ने नीति–निर्देशन सार्वजनिक गर्नुभएको हो।
मन्त्री पुनका अनुसार पहिलो कदम स्वरूप नेपालभरका सबै सामुदायिक माध्यमिक विद्यालयमा कम्प्युटर शिक्षा अनिवार्य पहुँचयोग्य बनाउन प्रत्येक विद्यालयमा एक दरबन्दी कम्प्युटर शिक्षक थप्नुपर्ने छ। उहाँले ‘अब कुनै पनि विद्यार्थी कम्प्युटर शिक्षा बाट वञ्चित हुनु हुँदैन’ भन्दै यसलाई मन्त्रालयको प्राथमिकतामा राख्न निर्देशन दिनुभयो।
दोस्रो कदमका रूपमा, मन्त्री पुनले विश्वविद्यालयहरूमा परीक्षाफल निकाल्न लामो समय लाग्ने परिपाटी अन्त्य गर्न निर्देशन दिनुभएको छ। उहाँले ‘केही विश्वविद्यालयहरूले परीक्षा लिएर नतिजा निकाल्न ८ महिना देखि १ वर्षसम्म समय लिने गरेका छन्, यो विद्यार्थीका लागि अपूरणीय क्षति हो’ भन्दै अब बढीमा तीन महिनाभित्रै अनिवार्य रूपमा नतिजा प्रकाशन गर्नुपर्ने नियम लागू हुने स्पष्ट पार्नुभयो। समयमा नतिजा प्रकाशित नगर्ने विश्वविद्यालयहरूको अनुदान रोक्का गर्ने चेतावनी पनि दिनुभयो। उहाँले उदाहरण दिँदै राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ का पाँच लाख विद्यार्थीको नतिजा तीन महिनामै निकाल्ने गरेको भन्दै विश्वविद्यालयले ढिला गर्न नहुने बताउनुभयो।
तेस्रो कदममा मन्त्री पुनले त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरको विशाल क्षेत्रलाई सफा र आकर्षक बनाउन पहल गर्ने घोषणा गर्नुभयो। उहाँले ‘ठूला रुख नकटाई झाडी मात्र फाँडेर सुन्दर बगैँचा र फुटपाथ बनाउनुपर्छ’ भन्दै विश्वविद्यालय परिसरलाई आकर्षक शैक्षिक वातावरणका रूपमा रूपान्तरण गर्ने निर्देशन दिनुभयो ।
मन्त्री पुनको आजको निर्देशनलाई शिक्षा क्षेत्रमा ‘व्यावहारिक सुधारतर्फको तत्कालीन कदम’का रूपमा अर्थ्याइएको छ। कम्प्युटर शिक्षक दरबन्दी थप्ने निर्णयले गाउँ–गाउँका विद्यार्थीलाई प्रविधि शिक्षा पहुँचमा ल्याउने विश्वास गरिएको छ भने परीक्षाफल छिटो निकाल्ने कदमले हजारौँ विद्यार्थीको शैक्षिक भविष्य सुरक्षित गर्ने अपेक्षा गरिएको छ। कीर्तिपुरस्थित त्रिवि क्षेत्र सफाइको पहलले भने विश्वविद्यालयको भौतिक वातावरणलाई विद्यार्थीमैत्री बनाउन मद्दत गर्ने विश्वास लिइएको छ ।













प्रतिक्रिया दिनुहोस्