काठमाडौं, असाेज ७। जेनजी आन्दोलनका क्रममा भदौ २४ गते काठमाडौंसहित देशभर भएका भाटभटेनी स्टोरहरूमा भएको आगजनी र तोडफोडबाट १० अर्ब ८५ करोड ६७ लाख ९८ हजार ८५४ रुपैयाँ बराबरको क्षति भएको छ।
भाटभटेनी सुपर स्टोरका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले मंगलबार प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर कुल क्षतिको विवरण प्रस्तुत गर्नुभएको हो। उहाँका अनुसार देशभरका २० वटा स्टोरमध्ये बालुवाटारस्थित मुख्य स्टोरसहित १२ वटा पूर्णरूपमा जलेका छन्।
आगजनी भएका भवनभित्रका सम्पूर्ण सामग्री, स्केलेटर, लिफ्ट, फ्रिजलगायतका महँगा उपकरणसमेत नष्ट भएको गुरुङले जानकारी दिनुभयो। बाँकी नौ वटा स्टोरमा तोडफोड र लुटपाटबाट आंशिक क्षति पुगेको छ।
भाटभटेनीका अनुसार पूर्ण क्षति भएका १२ स्टोर र आंशिक क्षति भएका नौ स्टोर गरी १९ वटा स्टोरमा ४ अर्ब ४० करोड ६ लाख ५४ हजार ६ सय ३ रुपैयाँ बराबरको क्षति भएको छ। त्यस्तै ५ अर्ब ९६ करोड ३ लाख ६७ हजार ५९६ रुपैयाँ बराबरका सामग्री पूर्णरूपमा जलेका छन् भने ४९ करोड ५७ लाख ७६ हजार ६५५ रुपैयाँ बराबरका सामग्री तोडफोड र लुटपाटमा परेका छन्।
गुरुङले कर्मचारीहरूको रोजगारी सुरक्षित गर्ने उद्देश्यले दश हजारभन्दा बढी कर्मचारीलाई बिदा नगर्ने र दशैँ बोनस पनि पूरा महिनाको दिने योजना रहेको जानकारी दिनुभयो।
प्रधानमन्त्रीसँगको भेटमा उहाँले राज्यले चाहेमा आफूले आधा सम्पत्ति दिन तयार रहेको प्रतिबद्धता बारम्बार जनाए पनि भाटभटेनीमाथि ‘टार्गेट’ गरिएको गुनासो गर्नुभएको छ।












प्रतिक्रिया दिनुहोस्