जनकपुर, असोज ८ । मधेश प्रदेश सरकारलाई दिँदै आएको समर्थन नेपाली कांग्रेसले फिर्ता लिएको छ । बुधबार जनकपुरधामस्थित नेपाली कांग्रेस मधेश प्रदेश संसदीय दलको कार्यालयमा बसेको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
दलका नेता कृष्णा यादवका अनुसार बैठकले सरकारलाई दिएको समर्थन मात्र नभई मन्त्रीसमेत फिर्ता बोलाउने निर्णय गरेको छ ।
हालसम्म नेपाली कांग्रेसबाट मधेश प्रदेश सरकारमा अर्थ मन्त्री सुनिल यादव, उर्जा तथा सिँचाइ मन्त्री शेष नारायण यादव, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्री र श्रम तथा यातायात मन्त्री कौशल किशोर राय सहभागी थिए । उनीहरूलाई दलले तत्काल फिर्ता हुन निर्देशन दिएको छ ।
समर्थन फिर्ता गर्ने निर्णयसँगै मधेश प्रदेश सरकार नयाँ राजनीतिक समीकरणमा पर्ने देखिएको छ । प्रदेश मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकार प्रदेश सभामा विभिन्न दलको समर्थनमा टेकेको छ । कांग्रेसको समर्थन फिर्ताले सरकारलाई प्रत्यक्ष असर पार्ने देखिए पछि अब नयाँ गठबन्धन कसरी बन्ने भन्ने चासो बढेको छ ।
संसदीय दलका नेता कृष्णा यादवले सरकार सञ्चालनमा कांग्रेसलाई बेवास्ता गरिएको र पार्टीको भूमिकालाई कमजोर पार्ने कार्य भएको भन्दै समर्थन फिर्ता लिनुपरेको बताउनुभयाे । ‘हामीलाई सरकारमा जिम्मेवारी दिइए पनि निर्णय प्रक्रियामा बेवास्ता गरिएको छ, यसकारण कांग्रेसले अब समर्थन नदिने निर्णय गरेको हो,’ यादवले भन्नुभयाे।
मधेश प्रदेशमा कांग्रेस दोस्रो ठूलो शक्ति भएकाले यस कदमले प्रदेश राजनीतिमा ठूलो हलचल ल्याउने अनुमान गरिएको छ । कांग्रेसको निर्णयपछि प्रदेश सभामा नयाँ सरकार गठन वा पुनर्गठनका सम्भावनाबारे दलहरूबीच छलफल अघि बढ्ने छ ।













प्रतिक्रिया दिनुहोस्