सुनसरी, असोज ९ । जेनजी आन्दोलनको क्रममा सुनसरीको धरानमा गत भदौ २४ गते आगजनी र तोडफोड घटनामा संलग्न १ सय ५० भन्दा बढीको नाम किटान गर्दै उजुरी दर्ता भएको छ ।
तोडफोड, आगजनी र लुटपाटबिरुद्ध इलाका प्रहरी कार्यालय धरानमा उजुरी दर्ता भएको हो । एमाले, कांग्रेस र माओवादी कार्यालय तथा निजी निवासमा आगजनी तथा तोडफोड गर्नेहरूविरुद्ध छुट्टाछुट्टै उजुरी परेको प्रहरीले जनाएको छ ।
पूर्वमेयर मनोज मेन्याङ्बो, पूर्वउपमेयर मञ्जु भण्डारी, पूर्वसांसद जयकुमार राई, कांग्रेस नेताहरू उमेश थापा, सुजेन्द्र तामाङ र कार्यपालिका सदस्य सिर्जना नेपाल तथा कांग्रेस, एमाले र माओवादीले पार्टी कार्यालय जलाउनेहरूलाई तत्काल पक्राउ गरी कारबाहीको माग गर्दै उजुरी दिएका छन ।
धरानमा आगजनी र तोडफोड गर्ने पत्रकार बिमल शाक्य, संगीतकार हेम सुब्बा, मिलन बान्तवा राई,दिपचन्द्र राई (कान्छी) लगायतको पहिचान भइसकेको प्रहरीले जनाएको छ । एमाले धरानका अध्यक्ष हर्कजङ एभेङले पार्टी कार्यालय तोडफोड र जलाउनेहरूलाई तत्काल पक्राउ गरी कडा कानुनी कारबाही गर्न माग गरिएको बताउनु भयो ।
माओवादी केन्द्र धरानका अध्यक्ष उद्दव लिम्बूले समेत पार्टी कार्यालय जलाउने ४० जना पहिचान गरी उजुरी दिएको बताउनु भएको छ । पीडितहरूले प्रहरीप्रति असन्तुष्टि व्यक्त गरेका छन । स्थानीय राजनीतिक दल र सर्वसाधारणले अराजकता उक्साउने र सहभागी हुनेलाई कडाभन्दा कडा सजाय दिन सरकार र प्रहरी प्रशासनलाई आग्रह गरेका छन ।
प्रहरीले आगजनीमा सम्लग्न केही व्यक्तिहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको बताउनु भयो ।












प्रतिक्रिया दिनुहोस्