जनता टाइम्स

५ मंसिर २०७६, बिहीबार १८:१२

जिल्ला अदालतको आदेशविरूद्ध उच्च अदालत पुगे महरा, उठाए जिल्लाको फैसलामाथि गम्भीर प्रश्न


काठमाडौं, मंसिर ५ । जवरजस्ती करणी उद्योग गरेको अभियोगमा कारागार चलान हुनुभएको निवर्तमान सभामुख कृष्णबहादुर महराले काठमाडौं जिल्ला अदालतको आदेशविरूद्ध उच्च अदालत पाटनमा पुनरावेदन दर्ता गर्नुभएको छ ।

संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि जवरजस्ती करणी गरेको अभियोगमा कारागार चलान हुनुभएका महरा आज सो आदेश खारेजीको मागसहित उच्च अदालतमा निवेदन दिनुभएको हो । महिलालाई यौन दुर्ब्यवहार गरेको अभियोगमा काठमाडौं जिल्ला अदालतले महरालाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको थियो । अदालतको आदेशअनुसार महरालाई डिल्लीबजारस्थित सदरखोरमा राखिएको छ ।

संसद सचिवालयमा कार्यरत शाहीले गत असोज १२ गते आफ्नो कोठामा आई महराले बलात्कार गरेको र प्रतिवाद गर्दा कुटपीटसमेत गरेको आरोप लगाएकी थिइन । सो घटना सार्वजनिक भएपछि महराले सत्तारुढ नेकपाको निर्देशनअनुसार सभामुख पदबाट राजीनामा दिनुभएको थियो । शाहीको किटानी जाहेरीपछि महरालाई पक्राउ गरिएको थियो । महराले जिल्ला अदालतको फैसलामाथि गम्भीर प्रश्न उठाउँदै खारेजीको मागसहित उच्च अदालतमा निवेदन दिनुभएको हो ।