काठमाडौं, असोज ११। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइतबार दिउँसो १ बजे पार्टी सचिवालय बैठक बोलाउनुभएको छ । ओलीले भक्तपुरको गुण्डुस्थित भाडाको निवासमा बैठक आह्वान गर्नुभएको हो।
बैठकमा हालै सम्पन्न जेनजी आन्दोलनपछिको राजनीतिक परिस्थितिबारे समीक्षा र छलफल हुने बताइएको छ। गत असोज २३ र २४ गते भएका ती प्रदर्शनका क्रममा काठमाडौंस्थित पार्टी कार्यालयमा आगजनी र तोडफोड भएको थियो। सो क्रममा अध्यक्ष ओलीको बालकोटस्थित निजी आवाससमेत भीडले जलाएको थियो। त्यसयता उहाँ भक्तपुरमा भाडाको घरमा बस्दै आउनुभएको छ।
सचिवालय बैठकले आन्दोलनपश्चात उत्पन्न वातावरण, सरकारको कमजोरी र पार्टीभित्र अपनाउनुपर्ने रणनीतिबारे गहिरो बहस गर्ने अपेक्षा गरिएको छ। आन्दोलनका क्रममा पार्टी संरचनामा पर्न गएको क्षति, कार्यकर्ता मनोबल र सुरक्षा सम्बन्धी एजेन्डा पनि छलफलमा पर्न सक्ने देखिन्छ।
एमालेभित्रको उच्चस्तरीय बैठकले पार्टीको आगामी कार्यक्रम र सरकारप्रति अपनाउने धारणा कस्तो हुने भन्ने निर्धारण गर्ने भएकाले यसलाई निर्णायक रूपमा हेरिएको छ।













प्रतिक्रिया दिनुहोस्