पोखरा, मंसिर ५
कास्की निर्वाचन क्षेत्र नं २ मा मङ्सीर १४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की उम्मेदवार विद्या भट्टराईले आफू सामन्तवादको पृष्ठपोषक नभई जनताको सेवक बन्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
चुनावी घरदैलोका क्रममा पोखरा–३३ ठूलढुङ्गा, कसेरी, आपुभञ्ज्याङ, मालागिरी क्षेत्रमा भएको छुट्टाछुट्टै चुनावीसभामा उहाँले जनताको सुख दुःखसँगै रहने बताउनुभयो । समाजका पिछडिएका वर्गलाई आर्थिकरुपमा सवल बनाउन सकेमात्र समृद्धि सम्भव हुने उहाँको भनाइ थियो । स्व रवीन्द्र अधिकारीका अपूरा सपनालाई पूरा गर्न पार्टीले आफूलाई उम्मेदवार बनाएको स्मरण गर्दै उहाँले पार्टी र सरकारले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानलाई सफल बनाउन उत्पादनसँग जोडिनुपर्ने आवश्यकता औल्याउनुभयो ।
राजनीतिक एजेण्डामा तार्किक बहस गरेर देश विकासमा साझेदारी गर्ने राजनीतिक संस्कारको अहिले आवश्यकता भएको भट्टराईले उल्लेख गर्नुभयो । उहाँले सबैको विचार र अधिकारलाई सम्मान गर्दै आफु राजनीतिमा अघि बढ्ने उल्लेख गर्नुभयो ।
सो अवसरमा नेकपा गण्डकी प्रदेश सहइन्चार्ज खगराज अधिकारीले नेकपाको सरकारले दण्डहीनता, अनियमितता र भ्रष्टाचारविरुद्ध कुनै सम्झौता नगर्ने बताउनुभयो । कास्की–२ मा पोखरा–४, ७, ८, ९, ११, १५, १६, १७, २०, २१ र ३३ वडामा भूमिहिनको बसोबास रहेको नेकपा कास्कीका सदस्य ओम पौडेलले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्