काठमाडौं, असोज १३ । प्रधानमन्त्री सुशीला कार्कीले यस वर्ष बडादशैँको टिका–जमरा नलगाउनु हुने भएको छ । हालै सम्पन्न युवापुस्ताको आन्दोलनका क्रममा धेरै युवाहरूले ज्यान गुमाउनु परेको पीडा अझै ताजै रहेकाले प्रधानमन्त्रीले देशवासीलाई समेत टिका लगाउने औपचारिक कार्यक्रम नरहेको जानकारी दिनु भएको हो ।
सोमबार जारी सन्देशमा उहाँले भन्नु भएको छ, ‘बडादशैँ प्रत्येक वर्ष हर्षोल्लासका साथ मनाइने चाड भए तापनि हालै सम्पन्न युवापुस्ताको आन्दोलनको क्रममा धेरै युवाहरूले आफ्नो ज्यान गुमाउनु परेको पीडा पनि हाम्रा सामु ताजै छ । तसर्थ, यस वर्ष प्रधानमन्त्री स्वयंले टिका–जमरा नलगाउनु हुने र देशवासीहरूलाई समेत सीमित टिका लगाउने कार्यक्रम नरहेको व्यहोरा सादर अनुरोध गर्दछु ।’
प्रधानमन्त्री कार्कीले युवापुस्ताको अभूतपूर्व आन्दोलनकै जगमा वर्तमान सरकार बनेको स्मरण गराउँदै तोकिएको मितिमा प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्ने सरकारको प्रतिबद्धता दोहोर्याउनु भएको छ । उहाँले सुशासन कायम गर्न सरकार दृढ रहि आएको समेत स्पष्ट पार्नु भएको छ ।
यसै सन्दर्भमा उहाँले समग्र राष्ट्रको कल्याणका लागि दुर्गा भवानीले शक्ति प्रदान गरून् भन्ने कामना गर्दै मुलुकमा सुख–शान्ति, स्थायित्व, सुशासन र समृद्धिको मार्गमा अघि बढ्ने सङ्कल्प गर्न सबैमा आह्वान गर्नुभएको छ ।
प्रधानमन्त्री कार्कीले बडादशैँ–२०८२ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई शुभकामना व्यक्त गर्नुभएको छ ।













प्रतिक्रिया दिनुहोस्