काठमाडौं, असोज १६ । भीषण वर्षा र सम्भावित विपद्को जोखिमका कारण बीपी राजमार्ग रातको समयमा बन्द गरिएको छ।
जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले असोज १७ गतेदेखि २० गतेसम्म भारी वर्षा हुने सम्भावना रहेको भन्दै आज (असोज १६ गते) देखि असोज २१ गते मंगलबारसम्म बेलुकी ५ बजेदेखि बिहान ५ बजेसम्म राजमार्ग बन्द गर्ने निर्णय गरेको हो। यस अवधिमा एम्बुलेन्स र अत्यावश्यक सेवाका सवारीसाधन बाहेक अन्य सार्वजनिक तथा निजी यात्रुवाहक साधनको आवागमनमा रोक लगाइएको छ।
प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जारी गरेको सूचनामा यात्रु तथा स्थानीयवासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। उहाँले रोशी खोला तथा अन्य खहरे खोलामा आकस्मिक बाढी आउने सम्भावनाका कारण अन्य समयमा पनि प्रहरी वा ट्राफिक प्रहरीले सवारीसाधन रोक्न सक्ने व्यवस्था मिलाइएको जानकारी दिनु भएकाे छ ।
प्रशासनले अनावश्यक रूपमा बाहिर ननिस्कन, विशेष गरी रातको समयमा यात्रा नगर्न र पहिरो जोखिमयुक्त क्षेत्र तथा नदीकिनारका बस्तीमा उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ। साथै, डुबानको सम्भावना रहेका बस्तीलाई अस्थायी सुरक्षित क्षेत्रमा स्थानान्तरण गर्न स्थानीय तहलाई पूर्वतयारी गर्न निर्देशन दिइएको छ।
त्यस्तै, विपद्को सम्भावनालाई ध्यानमा राखी सुरक्षा निकाय, स्थानीय तह, स्वयंसेवक तथा सम्बन्धित निकायलाई स्वीकृत प्रतिकार्य योजनाअनुसार तयारी अवस्थामा रहन निर्देशन दिइएको छ।














प्रतिक्रिया दिनुहोस्