काठमाडौं, असोज १८ । प्रधानमन्त्री सुशीला कार्कीले नागरिकको सुरक्षा नै सरकारको सर्वोपरि चिन्ता रहेको बताउनुभएको छ।
बाढी–पहिरोका घटनाहरू बढ्दै गएपछि उहाँले देशवासीका नाममा भिडियो सन्देश जारी गर्दै आवश्यक सहयोग लिन अप्ठेरो नमान्न आग्रह गर्नुभएको छ । ‘कुनै पनि कार्य गर्दा जोखिमको पूर्व आकलन गरी सुरक्षालाई उच्च प्राथमिकता दिएर गर्नुहोस् तपाईँहरूको सुरक्षा नै हाम्रो सर्वोपरि चिन्ता हो, आवश्यक सहयोग लिन अप्ठेरो नमान्नुस्,’ प्रधानमन्त्री कार्कीले भन्नुभएको छ ।
उहाँले राज्य पीडितको साथमा रहेको बताउनुभएको छ । ‘हामी तपाईँहरूको चिन्ता र कठिनाइलाई बुझ्छौँ, म प्रष्ट पार्न चाहन्छु, तपाईँ यसमा एक्लो हुनुहुन्न, राज्यका सम्पूर्ण स्रोत तपाईँहरूसँगै छन्’, उहाँले भन्नुभयो ।
उहाँले देशका विभिन्न स्थानहरूमा बाढी, पहिरो, डुबान र कटानको जोखिम उच्च रहेको बताउँदै आगामी दिनहरूमा परिस्थिति अझ चुनौतीपूर्ण बन्न सक्ने उल्लेख गर्नुभयो। प्रधानमन्त्रीले सबै सरकारी निकायहरू उद्धार र राहतका लागि प्रतिकूल परिस्थितिका बाबजुद उच्च मनोबलका साथ तयारी अवस्थामा रहेको जानकारी दिनुभयो। ‘हाल नदीनालाहरूको बहाव उच्च सतर्कताको तहमा छ, निरन्तर वर्षाका कारण खतराको तहमा पुग्ने सम्भावना अधिक छ,’ उहाँको भनाइ छ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्वास्थ्यकर्मी, प्रशासन र अन्य सेवादायी निकायहरू आपत्कालीन सेवामा २४ घण्टा सक्रिय रहेको पनि प्रधानमन्त्रीले बताउनुभयो। महत्त्वपूर्ण राजमार्ग र पूर्वाधारहरूको निरन्तर निगरानी भइरहेको जनाउँदै उहाँले सबै नागरिकलाई सावधानी अपनाउन र सुरक्षित रहन अनुरोध गर्नुभयो। पानी हटेपछि प्राथमिकताका साथ राजमार्ग खोल्ने उहाँले बताउनुभयो ।
‘तपाईँ जहाँ हुनुहुन्छ, त्यहाँ सुरक्षित रहनुहोस् र अरूलाई पनि सुरक्षित रहन प्रेरित गर्नुहोस्,’ प्रधानमन्त्री कार्कीको सन्देशमा उल्लेख छ।













प्रतिक्रिया दिनुहोस्