हेटौंडा, असोज १८ । अविरल वर्षाका कारण बाढी, पहिरो र डुबानको जोखिम बढेपछि वाग्मती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सेवामा सतर्कता अपनाउन र जनस्वास्थ्य सुरक्षामा ध्यान दिन सबैमा आह्वान गरेको छ।
मन्त्रालयका प्रदेश सचिव डा. सुमित्रा गौतमद्वारा शुक्रबार जारी स्वास्थ्यसम्बन्धी जरुरी सूचनामा प्रदेशका विभिन्न जिल्लाहरूमा जारी निरन्तर वर्षाका कारण उत्पन्न जोखिमलाई मध्यनजर गर्दै सबै मातहतका स्वास्थ्य कार्यालय, स्वास्थ्य संस्था र सरोकारवाला निकायहरूलाई उच्च सतर्कता अपनाउन निर्देशन दिइएको छ।
सूचनामा पहिलो प्राथमिकता व्यक्तिगत सुरक्षा र सतर्कतालाई दिँदै उच्च जोखिमयुक्त क्षेत्रमा अनावश्यक यात्रा नगर्न अनुरोध गरिएको छ। त्यस्तै, स्वास्थ्य सेवामा निरन्तरता सुनिश्चित गर्न स्थानीय तहसँग सहकार्य गर्दै आकस्मिक उपचार, प्रसूति सेवा, खोप कार्यक्रम र रोग नियन्त्रणका कार्यलाई निरन्तर सञ्चालनमा राख्न निर्देशन दिइएको छ।
मन्त्रालयले हैजा, झाडापखाला, डेंगु, मलेरिया, स्क्रब टाइफस र लेप्टोस्पाइरोसिसजस्ता पानीजन्य र कीटजन्य रोगहरूको निगरानी सुदृढ पार्न आग्रह गरेको छ। असामान्य रोग वृद्धि देखिए तुरुन्त सम्बन्धित निकायमा जानकारी दिन स्वास्थ्य संस्थाहरूलाई अनुरोध गरिएको छ।
औषधि तथा सामग्री व्यवस्थापनतर्फ पनि मन्त्रालयले विशेष ध्यान दिन आग्रह गर्दै आवश्यक औषधि, ओआरएस, क्लोरिन ट्याब्लेट र आकस्मिक सामग्रीको उपलब्धता सुनिश्चित गर्न निर्देशन दिएको छ। यदि अभाव देखिए तत्काल रिपोर्ट गर्न भनिएको छ।
त्यसैगरी, समुदायमा सुरक्षित पिउने पानी, सरसफाइ, कीट नियन्त्रण र स्वस्थ आहार सम्बन्धी जनचेतना फैलाउन स्वास्थ्यकर्मी र स्वयंसेवकहरूलाई आग्रह गरिएको छ।
डा. गौतमले सूचनामार्फत स्थानीय तह, सुरक्षा निकाय र विपद् व्यवस्थापन समितिहरूसँग निरन्तर समन्वयमा रहन सबै स्वास्थ्य कार्यालयहरूलाई निर्देशन दिँदै भन्नुभएको छ, ‘हामी सबै मिलेर जनस्वास्थ्यको सुरक्षामा पूर्ण प्रतिबद्ध रहौँ, सावधान रहनुहोस् र सुरक्षित रहनुहोस्।’














प्रतिक्रिया दिनुहोस्