जनता टाइम्स

२० आश्विन २०८२, सोमबार १९:५६

फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनकाे आयोगले सार्वजनिक गर्‍यो कार्यतालिका


काठमाडौं, असाेज २०। निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ। सोमबार बसेको आयोगको बैठकले कार्यतालिका स्वीकृत गर्दै तयारीका चरणहरू औपचारिक रूपमा सुरु गरेको हो।

आयोगका अनुसार निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता मंसिर १ गतेदेखि १० गतेसम्म सञ्चालन हुनेछ। पहिलो हुने निर्वाचित हुने प्रणाली (प्रत्यक्ष प्रणाली) तर्फ माघ २ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिनेछ।

निर्वाचन प्रचारप्रसार अवधि फागुन ३ गतेदेखि १८ गतेसम्म रहनेछ। त्यसपछि मौन अवधि सुरु हुनेछ। मतदान फागुन २१ गते बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म हुनेछ। मतदान सकिएपछि प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीका मतपेटिका संकलन गरी मतगणना सुरु गरिनेछ।

समानुपातिक निर्वाचन प्रणालीका लागि निर्वाचन अधिकृतको कार्यालय मंसिर १५ गतेदेखि सञ्चालनमा आउनेछ। सो प्रणालीअन्तर्गत बन्दसूची पेस गर्ने मिति पुस १८ र १९ गते तोकिएको छ।

आयोगले दल दर्तासम्बन्धी प्रावधान स्पष्ट गर्दै भनेको छ, ‘आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरूले मात्र निर्वाचन प्रयोजनका लागि पुनः दल दर्ता गर्न पाउने व्यवस्था छ।’ त्यसअनुसार, आगामी निर्वाचनमा भाग लिन चाहने दलहरूले २०८२ साल कात्तिक ३० गतेभित्र राजनीतिक दल दर्ताको प्रमाणपत्र प्राप्त गरिसक्नुपर्नेछ।

निर्वाचन प्रक्रियामा पारदर्शिता र सहकार्यलाई प्राथमिकता दिने आयोगले सरोकारवाला निकाय र राजनीतिक दलहरूसँग निरन्तर परामर्श र समन्वय गर्ने जनाएको छ।

आयोगका प्रवक्ता तथा सहसचिव नारायण प्रसाद भट्टराईले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘स्वतन्त्र र निष्पक्ष निर्वाचनः राष्ट्रको गौरव’ नारालाई आत्मसात गर्दै आयोगले निर्धारित कार्यतालिका अनुसार सम्पूर्ण प्रक्रिया अघि बढाउनेछ।