काठमाडौं, असोज २० । निरन्तर वर्षापछि भारतको पश्चिम बंगालस्थित दार्जिलिङ र आसपासका क्षेत्रमा आएको भीषण बाढी र पहिरोमा परी कम्तीमा २३ जनाको ज्यान गएको छ। मृतकमध्ये अधिकांश नेपालीभाषी रहेको भारतीय अधिकारीहरूले जनाएका छन्।

अधिकारिहरूका अनुसार मृत्यु हुने संख्या अझै बढ्ने अनुमान गरिएको छ, किनभने धेरै स्थानमा उद्धार कार्य जारी छ। पछिल्ला वर्षामध्ये यो एक दशककै सबैभन्दा ठूलो पहिरो मानिएको छ, जसले दार्जिलिङ, मिरिक, खरसाङ, कालेम्बुङलगायतका क्षेत्रहरूमा व्यापक क्षति पुर्याएको हो।
दार्जिलिङ र जलपाइगुडी जिल्लाका स्थानीय प्रशासन र राष्ट्रिय विपद् प्रतिक्रिया बल (एनडीआरएफ) का अनुसार, सबैभन्दा बढी क्षति सरसाली, जसबीरगाउँ, मिरिक बस्ती, धार गाउँ (मेची), मिरिक ताल क्षेत्र र नागरकाटा क्षेत्रमा पुगेको छ।
भारतले नेपालको सिमानासँगै रहेको मानेभन्ज्याङ क्षेत्रमा मृत्यु भएका नेपाली नागरिकहरूलाई पनि आफ्नो तथ्याङ्कमा समावेश गरेको छ। प्रारम्भिक विवरणअनुसार मृत्यु हुनेमध्ये १८ जना भारतीय र ५ जना नेपाली छन्।
अविरल वर्षाका कारण सयौँ घरहरू पहिरोले बगाएका छन् भने सडक र पुलहरूमा पनि ठूलो क्षति पुगेको छ। मिरिक र दुधिया बीचको फलामे पुल पहिरोले क्षतिग्रस्त हुँदा आवागमन पूर्ण रूपमा रोकिएको छ।
यता, दार्जिलिङमा विनाशकारी पहिरोबाट विस्थापित ४० भन्दा बढी स्थानीय बासिन्दाहरू मिरिकस्थित सामुदायिक हलमा राहत शिविरमा आश्रय लिइरहेका छन्। आइतबारसम्म बाढी–पहिरो प्रभावित क्षेत्रहरूबाट १६० भन्दा बढी व्यक्तिलाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको एनडीआरएफले जनाएको छ।
स्थानीय प्रशासनका अनुसार राहत र उद्धार कार्य निरन्तर भइरहेको छ भने क्षतिको वास्तविक विवरण संकलन भइरहेको छ। निरन्तर वर्षाका कारण धेरै ठाउँमा उद्धार टोली पुग्न नसकेको बताइएको छ।













प्रतिक्रिया दिनुहोस्