जनता टाइम्स

६ मंसिर २०७६, शुक्रबार १५:१६

बिद्या भट्टराईलाई स्वागत गर्दै पोखराका सुकुम्बासीले गरे अठोट : मन र मत बदल्दैनौं, नेकपालाई नै दिन्छौं


पोखरा, ६ मंसिर । अघिपछि सुनसान हुने पोखराका सुकुम्बासी बस्ती चुनावमा गुल्जार हुन्छन । भोट माग्न पुग्ने दलको बेस्सरी नारा घन्किन्छ । अघिपछि नझुल्कने उम्मेदवार पनि चुनावमा हात जोर्दै झुपडी पुग्छन् । रातो पुर्जाको आश्वासन बाँड्छन् । प्रलोभनमा पार्ने भरमग्दुर प्रयास गर्छन् । पोखरा ९ का सुकुम्बासी भने आफूहरुलाई कुनै प्रलोभनले नलोभ्याउने बताउँछन् ।

यो वडामा ठूल्ठूला सुकुम्बासी बस्ती छन् । तुलसीघाँट, शान्तिवन, पृथ्वीचोक वरपरका सहाराटोल, शिवटोल, शुभकामना टोल, पार्वती टोल, गणतान्त्रिक टोल, कृष्ण टोल यहीं वडामा पर्छन् । क्षेत्र नम्बर २ को उपनिर्वाचनमा यी बस्तीबाट झण्डै २ हजार मतदाताले भोट हाल्दैछन् । गएको चुनावमा उनीहरुले तीनपल्ट रवीन्द्र अधिकारीलाई जिताएर प्रतिनिधिसभा पठाए । यसपल्ट पनि आफ्नो मन र मत नबदल्ने उनीहरु बताउँछन् । शुभकामना टोलका आशबहादुर विक अघिल्लोपल्ट जस्तै यसपल्टको चुनाव सुकुम्बासीका मतदातालाई कुनै प्रलोभनले नलोभ्याउने बताउनु हुन्छ । ‘बाहिर हल्ला चलेजस्तो सुकुम्बासीहरु पैसामा विक्दैनन,’ उहाँ भन्छन, ‘कसलाई जिताउने भन्ने हाम्रो मनमै छ ।’
गणतान्त्रिक टोलकी यमुना गुरुङको पनि नेकपा नै सुकुम्बासीलाई बुझ्ने एकमात्र पार्टी भएको ठम्याइ छ । ‘हाम्रो मनमा विद्या भट्टराई बसिसक्नुभएको छ,’ गुरुङले भन्नुभयो ।

२०७४ मा भएको चुनावमा आर्थिक चलखेल हुन नदिन बसपार्क छेवैको पार्वती टोलमा स्थानीयले गस्ती नै गरे । तत्कालीन कांग्रेसका उम्मेदवारले सुकुम्बासी बस्तीमा पैसा बाँड्न लागेको सुइको पाएपछि उनीहरुले गस्ती गरेका थिए । शिव टोलका कृष्ण पाण्डे यसपल्ट पनि कुनै चलखेल हुन नदिने बताउनु हुन्छ । ‘अहिले पैसा बाँड्नेले भोलि चुनाव जितेर गएपछि त्यहीं पैसा उठाउनतिर लाग्छन्,’ उहाँ भन्नुहुन्छ, ‘रवीन्द्रको इमान्दारिता विद्या भट्टराईमा पनि झल्किन्छ ।’ सहाराटोलकी कमला विक सुकुम्बासीको एकमात्र आशा नेकपा नै भएको सुनाउनुभयो । उहाँले मुलुकमा स्थायीसरकारमार्फत समृद्धि हासिल गर्न नेकपाको विकल्प नभएको उल्लेख गर्नुभयो । पोखरा बसपार्कको छेउछाउमा ०३६ सालदेखि सुकुम्बासी बस्न थालेका हुन ।

बसपार्क वरपरका शिव टोल, पार्वती टोल, कृष्ण टोल, गणतान्त्रिक टोल र शुभकामना टोलमा ७ सय घर सुकुम्बासी छन् । यो टोलमा मात्रै करिब १ हजार ५ सय मतदाता छन । बसपार्क विस्तारका लागि त्यहाँका सुकुम्बासीलाई हटाउने प्रसंग बारम्बार चलिरहन्छ । प्रत्येक चुनावमा टोलबासीले उम्मेदवारसँग लालपुर्जाकै मुद्दा उठाउँछन् । तर उनीहरुको माग भने हालसम्म सम्बोधन हुन सकेको छैन । ‘हाम्रो मुख्य माग नै लालपूर्जा हो,’ शान्तिवनका आइतमान गुरुङले भन्नुभयो, ‘यो माग नेकपाबाहेक अरुले पूरा गर्छन, जस्तो लाग्दैन ।’

बसपार्क विस्तारका लागि पोखरा उपत्यका नगर विकास समितिले २ सय ५ रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने बताइएको छ । हाल ८२ रोपनी क्षेत्रमा मात्र बसपार्क छ । ९ नम्बर वडामा नेकपाको चुनावी मोर्चा सम्हालेकी गण्डकी प्रदेश सांसद प्रभा कोइराला सुकुम्बासी व्यवस्थित गर्ने नेतृत्व आफ्नो पार्टीले गर्ने बताउनु हुन्छ । ‘मुलुकमा कोही पनि भूमिहिन हुनुहुँदैन भन्नेमा हामी स्पस्ट छौं,’ उहाँले भन्नुभयो । बसपार्क पनि बनाउने र सुकुम्बासीलाई पनि व्यवस्थित गर्ने योजना नेकपाको रहेको उहाँको भनाई छ ।