काठमाडौँ, असोज २२। नेकपा एमालेका नेता महेश बस्नेतले भ्रष्टाचार विरुद्धको छानबिन कुलमान गुरुङबाट र जेनजी आन्दोलनको क्षतिको छानबिन बालेन र सुदन गुरुङबाट गर्नु पर्ने बताउनुभएको छ ।
आज पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै बस्नेतले सबै घटनाको निष्पक्ष छानबिन हुनु पर्ने बताउनुभयो । ‘भ्रष्टाचार विरुद्धको पहिलो छानबिन कुलमान घिसिङबाट सुरु गरौँ, उहाँ जत्तिको भ्रष्टाचारी कोही छैन, त्यसपछि रामेश्वर खनाल माथि छानबिन गरौँ सबैको छानबिन गर्नुपर्छ।’
बालबालिकालाई मानव बम बनाएर सरकारी संरचना जलाउने, पार्टी कार्यालय र व्यावसायिक भवनहरूमा आगो लगाउने तथा बारबरा फाउण्डेसनको पैसाको दुरुपयोगबाट देशमा विनाश ल्याउने योजनाको सबै छानबिन हुनुपर्ने उहाँले माग गर्नुभयो । बालेन, रवि लामिछाने, प्रचण्ड लगायतका पात्र प्रधानमन्त्री बन्ने प्रलोभनमा फसेका उहाँको भनाई छ । उहाँले यस्ता षडयन्त्र बेलैमा बुझ्न सकेका भए नेपाल विदेशीहरूको कृडास्थल बन्ने अवस्था नआउने स्पष्ट पार्नु भयो । ‘जेनजीलाई उठाएर रगतमा पौडी खेलेर सत्तामा पुग्नेहरूको पनि छानबिन हुनुपर्छ’, उहाँले भन्नुभयो ।
बस्नेतले जेन्जी आन्दोलनको नाममा भएका हिंसा र लुटपाट निक्कै षडयन्त्रपूर्ण भएको बताउनुभयो। उहाँले भन्नुभयो, ‘डिस्कर्ड समूह बनाएर सरकारी संरचना, राजनीतिक दलका कार्यालय, नेताहरूको घर र व्यावसायिक भवन जलाइएको छ, अहिले पनि लुटको धन्दा चलिरहेको छ र गृह मन्त्रालयले यसलाई संरक्षण गरिरहेको छ।’
उहाँले सुधन गुरुङ लगायत केही व्यक्तिहरू अवैधानिक रूपमा राज्य सत्ता कब्जा गर्ने योजना बनाइरहेका बताउनुभयो । ‘डिस्कर्ड समूह बनाएर सरकारी संरचना राजनीतिक दलका कार्यालय राजनीतिक दलका नेताहरूको घर व्यवसायीक भवन जलाइएको छ, अहिले पनि लुटको धन्दा चलाइएको छ, गृह मन्त्रालयले त्यसको संरक्षण गरिरहेकाे छ, सुधन गुरुङ भन्ने उरन्ठेउलो अफिसियल बैठकमा गएर अवैधानिक रूपमा राज्य सत्ता कब्जा गर्ने गोटी बन्दै छ’, बस्नेतले भन्नुभयाे ।
उहाँले रास्वपा र माओवादीका केही कार्यकर्ताहरूले घर जलाउने कार्यमा संलग्न भएको दाबी गर्दै उनीहरूको एक एक रेकर्ड राखेको जानकारी दिनुभयो । ‘बालेन रवि प्रचण्ड लगायतका मानिसहरुलाई साम्राज्यवादीलाई प्रयोग गरे, उनीहरूलाई प्रधानमन्त्री बनाउने आश्वासन दिइयाे, हाम्रा घर जलाउन माओवादी र रास्वपाका धेरै कार्यकर्ता आएका छन्, ती सबै हिसाब हामीसँग छ, स्थिति उनीहरूको नियन्त्रणभन्दा बाहिर गएपछि उनीहरू सबै भूमिगत भएका छन्, केपी ओली त अहिले पनि गुण्डुमा छन्, युवालाई हिंसामा नलाग्नुस् भनेर आसिरवाद दिइरहेका छन्’, उहाँले भन्नुभयाे ।
बस्नेतले जेन्जी आन्दोलनको क्रममा लुटिएका हतियार र कैदीहरूबारे पनि छानबिनको माग गर्नुभयो। उहाँले भन्नुभयो, ‘आन्दोलनको नाममा लुटिएका १२ हजार हतियार कहाँ छन्? १४ हजार कैदीलाई बाहिर निकालेर देशलाई अपराधको भड्खालोमा धकेल्ने कोसिस गरिएको छ।’
बस्नेतले डिजिटल जेनरेशन निर्माण गरेर युवालाई हिंसाबाट बचाउने र अनुशासनमा राख्ने अभियान सुरु गरिएको जानकारी दिनुभयो। त्यो काम राष्ट्रिय युवा संघ नेपालले सुरु गरेको उहाँले बताउनुभयो ।
बस्नेतले जेन्जी आन्दोलनसँग सम्बन्धित घटनाहरूको निष्पक्ष छानबिन गर्न र सबै पक्षलाई जबाफदेही बनाउनुपर्नेमा जोड दिनुभयो। उहाँले सरकार र छानबिन आयोगलाई यस विषयमा छिटो र पारदर्शी अनुसन्धान सम्पन्न गर्न आग्रह गर्नुभयो । ‘बुलेटप्रुफ ज्याकेट लगाएर आन्दाेलनकारीकाे तर्फबाट गोली चलेको छ, त्याे पनि छानबिन होस्, रवि लामिछानेलाई जेलबाट छुटाउन जाने माथि पनि छानबिन होस्’, बस्नेतले भन्नुभयाे ।
उहाँले पार्टीको आधिकारिक वा स्वतन्त्र कानुन व्यवसायी मार्फत सर्वोच्च अदालतसम्म पुगेर पनि संसद् पुनः स्थापना र अन्य कानुनी उपायहरू अपनाउने तयारी भइरहेको जानकारी दिनुभयो। उहाँले भन्नुभयो,
बस्नेतले देश निर्माण र राष्ट्रिय सुरक्षाका पक्षमा उभिनु नै सबैको दायित्व भएको बताउँदै पार्टी र देशको हितमा आफूले कुनै पनि अवस्था सामना गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो। देशको लागि पटक पटक जेल जान आफू तयार रहेको उहाँले स्पष्ट पार्नुभयो । ‘राष्ट्रियता पक्षमा उभिँदा केपी ओली रमेश लेखक र म टार्गेटमा पर्दा गौरव लागेको छ, मलाई पक्राउ गर्न दलबल सहित अदालत गएको टोलीलाई अदालतले फर्काइदियाे, म भागेकाे छैन, म गुण्डुमा छु, मलाई समातेर देखाउनुस्, राष्ट्र राष्ट्रियताको पक्षमा पटक पटक जेल बस्न तयार छु’, उहाँले भन्नुभयाे ।
केपी ओली पद र सत्तामा रहे पनि नरहे पनि देशको अभिभावक भएको उहाँले बताउनुभयो । ‘जेgजीलाई उचालेर रगतमा पौडी खेलेर सत्तामा पुग्नेको पनि छानबिन हुनुपर्छ, भोलि पार्टी अध्यक्ष हुनुहोला नहोला, फेरी प्रधानमन्त्री हुनुहोला नहोला तर केपी ओली देशको अभिभावक हो, देश निर्माणमा उहाँको भूमिका अतुलनीय छ, उहाँका विरुद्ध जेनजीलाई प्रयोग गरेर बम पड्काइयो’, बस्नेतले भन्नुभयाे ।













प्रतिक्रिया दिनुहोस्