जनता टाइम्स

२२ आश्विन २०८२, बुधबार १८:१९

निर्णायक राष्ट्रिय शक्ति निर्माणका लागि राज्यका सबै अङ्ग एउटै लयमा अघि बढ्नुपर्छ : शंकर पोखरेल


काठमाडौं, असोज २२ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले राष्ट्रिय एकता र राज्य संयन्त्रबिचको समन्वय ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण’ का लागि अपरिहार्य रहेको बताउनुभएको छ ।

बुधबार सामाजिक सञ्जाल फेसबुकमा पोखरेलले लेख्नु भएको छ ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण भन्नाले जनताले चुनेको राजनीतिक नेतृत्वको मार्गदर्शनमा राज्यका सबै अङ्गहरू- जस्तै कार्यपालिका, न्यायपालिका, विधायिका तथा सुरक्षा निकायहरू एउटै उद्देश्य र भावना लिएर काम गर्ने अवस्था हो।’

उहाँका अनुसार राष्ट्र निर्माणका कामहरूमा सबै अङ्गबिच आपसी समन्वय, एकता र साझा दृष्टिकोण रहनु जरुरी हुन्छ। ‘जब राज्यका सबै निकायहरू एउटै लय र तालमा अघि बढ्छन्, तब मात्र राष्ट्रिय शक्ति संगठित, सक्षम र निर्णायक बन्न सक्छ’, उहाँले लेख्नु भएको छ ।

महासचिव पोखरेलले आफ्नो स्ट्याटसमा नयाँ पुस्ताका आकाङ्क्षा र देशको समृद्धि लक्ष्यलाई जोड दिँदै नवयुवाहरूको आकाङ्क्षा अनुरूप राष्ट्र निर्माणका लागि यस्तो गर्न आवश्यक रहेको बताउनुभएको छ । समृद्ध नेपाल, सुखी नेपालीको आकाङ्क्षा पूरा गर्ने सन्दर्भमा नेकपा (एमाले) ले भन्दै आएको कुरा यही भएको उहाँले स्पष्ट पार्नु भएको छ ।