जनता टाइम्स

२२ आश्विन २०८२, बुधबार २१:२८

अहिलेका गृह मन्त्री प्रतिशोध, झूट, भ्रम, असत्य र बेइमानको असली सेवक : महेश बर्ताैला


काठमाडौं, असोज २२ । नेकपा (एमाले) का नेता महेश बर्तौलाले हालको सरकारले जनादेश र संविधान विपरीत कार्य गरिरहेको आरोप लगाउनु भएकाे छ ।

उहाँले गृह मन्त्रीलाई ‘प्रतिशोध, झूट, भ्रम, असत्य र बेइमानको असली सेवक’ भएकाे बताउनुभएको छ । अहिलेको सत्ताको चरित्र नै अराजकता र प्रतिशोधमा आधारित भएको उहाँको टिप्पणी छ । बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत बर्तौलाले लेख्नुभएको छ- ‘जनादेश र संविधान विपरीत बनेको अहिलेको सरकारको गृह मन्त्री प्रतिशोध, झुट, भ्रम, असत्य र बेइमानको एक असली सेवक रहेछन्।’

उहाँले गृह मन्त्रीमाथि देशमा अराजकता फैलाउने उद्देश्यका साथ केही व्यक्तिहरूलाई प्रयोग गरेको आरोप लगाउनुभयो। उहाँका अनुसार गृह मन्त्रीले आफ्नै योजनामा केही मुठ्ठिभर बुख्याचाहरू खडा गरी तिनका माध्यमबाट देशमा शान्ति भङ्ग गराउने, राज्यका पदाधिकारी र राष्ट्रसेवकहरूलाई धम्क्याउने र उनीहरूको मनोबल गिराउने काम गराइरहेका छन्।

बर्तौलाले फेसबुकमा लेख्नुभएको छ- ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सर्वोच्च अदालतजस्ता स्वतन्त्र र निष्पक्ष संस्थाका नेतृत्व हटाउन दबाब सिर्जना गर्न, पूर्वप्रधानमन्त्री तथा मन्त्रीहरू विरुद्ध झुठा र षड्यन्त्रमूलक मुद्दा दर्ता गराउन, मिडिया ट्रायल र सामाजिक सञ्जालमार्फत भ्रामक सामग्रीसहित अभियान चलाउन लगाउने जस्ता घृणित धन्दा संचालन भइरहेको छ।’

उहाँले गृह मन्त्रीमाथि जनताको सुरक्षा जिम्मेवारी लिएर बसेको पदकै दुरुपयोग गरेको आराेप लगाउनुभयाे ।  ‘देश र जनताको जिउधनको सुरक्षाको जिम्मेवारी बोकेको गृह मन्त्री आफैँ भय, त्रास, प्रतिशोध र आतङ्कको साम्राज्य खडा गर्दै त्यसकै बलमा शासनमा रहिरहन सकिन्छ भन्ने सोचबाट प्रेरित छन्।’

उहाँले वर्तमान शासन प्रणालीको अस्थायित्व र अन्यायपूर्ण अभ्यास लामो समय टिक्न नसक्ने बताउनुभएकाे छ । ‘रात जतिसुकै लामो भए पनि बिहानी भएरै छोड्छ,’ उहाँले लेख्नु भएकाे छ ।