जनता टाइम्स

६ मंसिर २०७६, शुक्रबार १७:०८

पदभार सम्हालेको भोलिपल्टै महिलामन्त्री पार्वत गुरुङले भेटे अनाथ बालबालिका, जनाए यस्तो अठोट


काठमाडौं, मंसिर ६ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले अनाथ बालबालिकासँग भेट गर्नुभएको छ । मन्त्री गुरुङले पदभार ग्रहण गरेको भोलिपल्ट आज दिउँसो आफूलाई बधाई दिन आएका करिव ४८ जना अनाथ बालबालिकासँग सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा भेट गर्नुभएको हो ।

भेटका अवसरमा मन्त्री गुरुङले अनाथ बालबालिकाहरुको संरक्षणको जिम्मेवारी राज्यले लिने बताउनु भयो । अनाथ बालबालिकाहरुको संरक्षणको जिम्मेवारी राज्यले लिने बताउँदै उहाँले बालबालिकासम्बन्धि ऐन, नियमको आवश्यक संशोधन तत्काल गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो । मन्त्री गुरुङले बाल गृहको नाममा ठगी खानेहरुलाई भने सरकारले नछाडने घोषणा गर्नुभयो । ‘अनाथ बालबालिकाहरुको संरक्षणको जिम्मेवारी राज्यले लिन्छ, बाल गृहको नाममा ठगी खानेहरुलाई भने सरकारले कार्वाही गर्छ,’ मन्त्री गुरुङले भन्नुभयो ।

मन्त्री गुरुङले काठमाडांैको गोकर्णस्थित संयुक्त अपांग एकता आवाज केन्द्रको संरक्षणमा रहेका ती अनाथ बालबालिकाहरुलाई यसअघि पनि सांसदहरुको रुपमा खाद्यन्न तथा लत्ताकपडालगायतका बस्तुहरुको सहयोग गर्दै आउनु भएको थियो । बालबालिकासँगको भेटमा मन्त्री गुरुङले अनाथ टुहुरा बालबालिकाहरुको हितमा आफू केन्द्रित हुने पनि बताउनु भयो । संस्थाका अध्यक्ष तीलबहादुर कार्कीले मन्त्री गुरुङले सांसदको रुपमा आफ्नो संरक्षणमा रहेका अनाथ बालबालिकाहरुप्रति विगतमा गर्दै आउनु भएको सहयोगप्रति आभार व्यक्त गर्दै आगामी दिन पनि थप सहयोगको अपेक्षा गरिएको बताउनु भयो ।

त्यस अवसरमा मन्त्री गुरुङले अनाथ बालबालिकाहरुले आफूलाई बधाई दिएर बालबालिकाको हितमा काम गर्न झनै प्रोत्साहित गरेको भन्दै खुसी व्यक्त गर्नुभयो । उहाँले बिहीबार पदभार ग्रहण गर्दै बाल विवाह अन्त्यका लागि २ महिनाभित्र राष्ट्रिय कार्य योजना तय गरिसक्ने प्रस्ताव स्वीकृत गर्नु भएको थियो ।