काठमाडाैं, असाेज २३ । असोज १७, १८ र १९ गतेको वर्षाका कारण रोशी खोलामा आएको बाढीले बगाएको बिपी राजमार्ग निर्माण कार्य आज साँझसम्म सकिने भएको छ ।
बाढीले सडक बगाएको ठाउँमा डाइभर्सन निर्माण गरी अस्थायी रूपमा एकतर्फी यातायात सञ्चालन गर्ने गरी सडक बनाउने काम सकिने सडक विभागका सुपरिटेण्डेण्ट इञ्जिनियर शुभराज न्यौपानेले जानकारी दिनुभयो । बाढीले क्षति पुर्याएको काभ्रेको चौकीडाँडादेखि सिन्धुलीको नेपालथोकसम्मको सडक स्थलगत अनुगमन गरी बुधबार साँझ नेपालथाेक आइपुग्नु भएको न्यौपानेले आजै साँझसम्म एकतर्फी यातायात सञ्चालन हुने गरी सडक बन्ने जानकारी दिनुभयो ।
न्यौपानेले चौकिडाँडा र नेपालथोकका ठुला डाइभर्सन बनिसकेका र बाँकी क्षति पुगेको ठाउँमा पनि निर्माण कार्य जारी रहेको बताउनुभयो ।
बाढीले काभ्रेको चौकीडाँडादेखि सिन्धुलीको नेपालथोकसम्म ठाउँ ठाउँमा सडक बगाएको छ । बगाएको सडकमा दुवै तर्फबाट निर्माणको काम भइरहेको छ । रोशीखोलाको पानीलाई सडक बगाएको ठाउँबाट डाइभर्ट गरी खोलाले बगाएको ठाउँ पुरेर सडक बनाउने काम भइरहेको छ ।
गत वर्ष पनि असोज महिनामा आएको बाढी सो राजमार्गमा क्षति पुर्याएकाे थियो । गत साल पनि अस्थायी डाइभर्सन निर्माण गरी यातायात सञ्चालन गरिएको थियो । यस वर्ष पनि तिनै ठाउँमा खोलाले बढी क्षति पुर्याएकाे छ ।













प्रतिक्रिया दिनुहोस्