जनता टाइम्स

६ मंसिर २०७६, शुक्रबार १७:४२

बिर्सन सक्दैनन दम्सादीले रविन्द्र अधिकारी, बिद्या भट्टराई देख्नसाथ एकाएक भक्कानिए सिंगो गाउँबासी


पोखरा ६ मंसिर । गाउँ पुग्ने अन्य नेताहरु याद छैन उहाँलाई । नाम पनि जान्नुहुन्न कसैको । उमेरले आठ दशक नजिकिएकी लिलामाया भण्डारीले जानेको एउटै नाम हो, रविन्द्र अधिकारी । बिरौटा र दम्सादी जोड्ने पुल देख्दा उहाँ रविन्द्र सम्झनुहुन्छ । गाउँमा हुने विविध कार्यक्रममा अन्य नेता कार्यकर्ता हिँडेको देख्दा उहाँलाई रविन्द्रको झझल्कोले सताउँछ । आगामी मंसिर १४ गते हुन लागेको कास्की २ को चुनावी कार्यक्रममा नेकपाकी उम्मेद्वार विद्या भट्टराई अधिकारीको भाषण सुनिरहँदा रविन्द्रको बेस्कन याद आएछ क्यारे, लिलामाया एकाएक भक्कानिनु भयो ।

दाहिने हातले पुल देखाउँदै भन्नुभयो, ‘यो पुल रविन्द्रले हाल्देका हुन । यति रुन मन लाउँच क्यार्नी, बाबु । बिचरा, त्यस्तो भयो ।’ आँखाका डिलसम्म आइपुगेका आँसुुलाई सेतो पछ्यौरीले पुछ्दै लिलामाया भन्दै हुनुहुन्थ्यो, ‘यो पुल नहुँदा एक घण्टा लाउँथ्यो यहाँ आइपुग्न । २ वर्ष भन्दा बढी भयो । अहिले सुविस्ता भ’छ ।’ चुनावको बेला मात्र उहाँसँग भेट हुन्थ्यो कि अरु बेला पनि ? हामीले उहाँसँग जिज्ञासा राख्यौं । भक्कानिएको आवाज अडाउँदै भन्नुभयो, ‘यता आइरहन्थे । आमा, सञ्चै हुनुहुन्छ, भन्दै आउँथे । यही बाटो हिँड्थे । आफ्नै छोरो जस्तै लाग्थ्यो ।’ रविन्द्रलाई कहिल्यै बिर्सन नसक्नेमा उहाँ एक्लो होइन, सवै गाउँबासीको अवस्था एउटै छ । रविन्द्रकै झल्को बिद्यामा पाएका गाउँबासीले आज पोखरा २१ दम्सादीमा उपनिर्वाचन लक्षित घरदैलो कार्यक्रमका क्रममा बृद्धबृद्धाले उम्मेदवार विद्या भट्टराइलाई बिजयको आशिर्वाद दिएका छन ।

मंसीर १४ मा हुने उप निर्वाचनका लागि विद्या कास्की क्षेत्र नं २ को उम्मेदवार हुनुहुन्छ । यो यही क्षेत्र हो, जहाँका जनताले रविन्द्रलाई ३ पटकसम्म हेभिवेट उम्मेदवारको ट्याग दिलायो र हेभि मतान्तरका साथ विजयी पनि गरायो । नेकपा कास्कीले आज बिहान दम्सादी, अम्बोट, फेदिपाटन, खरच्याङ्ग, रघौचौरमा कार्यक्रम सम्पन्न गरिसकेको छ भने दुवार, ठुलि स्वारा, मैदान, चापको चौर, गिरी गाउँ हुँदै थाप्लेमा आयोजना गर्ने जनाइएको छ । उपनिर्वाचनमा २१ जना उमेदवारहरु प्रतिस्पर्धामा छन् । दलहरुले विभिन्न क्षेत्रमा सेडुअल सहित कार्यक्रमहरु आयोजना गरिरहेका छन् ।

११ वटै वडामा बिद्या जिताउन महिलाहरुको बृहत र्याली

नेपाल कम्यूनिष्ट पार्टी नेकपाको चुनावी कार्यक्रम अन्र्तगत महिला परिचालन कमिटीको समन्वयमा शुक्रबार ११ वटै वडामा महिलाहरुले र्याली निकालेका छन् । जस अन्र्तगत वडा नं २० को भलामस्थित निर्वाचन परिचालन कार्यालयबाट सुरु भएको र्याली र्यालेचौर, एक्लेखेत, विमिरे, शिवालय हुँदै पुनः कार्यालयमै आएर कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै महिला नेतृ मनबुजा विश्वकर्माले महिला अधिकार र सहभागिताका लागि नेकपाका सूर्य ध्वजाबहाक उम्मेद्वार विद्या भट्टराईलाई जिताउनुको विकल्प नभएको बताउनुभयो । कार्यक्रममा नेकपा वडा कमिटी २० का अध्यक्ष भीमप्रसाद बास्तोला, महिला समन्वय उपसमितिका संयोजक लक्ष्मी सुवेदी, प्रचार प्रसार उपसमिति २० का संयोजक शुसिल बस्नेत लगायतले सूर्य चिन्हमा मतदान गर्न अपिल गर्नुभयो ।

त्यस्तै वडा नं १५ मा पनि चुनावी घरदैलो, कोणसभा, मतदाता शिक्षा, लगायतका कार्यक्रम जारी छन् । कार्यक्रम अन्र्तगत शुक्रबार निर्वाचन परिचालन कमिटीको सक्रियतामा महिलाहरुले र्याली निकाले । र्यालीले स्यानीपाटन, ठूलीमजुवा, फूलबारी होटल २ नंबर गेट लगायतका स्थान परिक्रमा गरेको वडाका चुनावी कमाण्डर बखान सिंह तमुले जानकारी दिनुभयो । र्यालीमा सहभागीहरुले नेकपा उम्मेद्वार विद्या भटट्राईका प्रतिवद्धताहरु उल्लेख गरिएका पर्चा वितरणसहित मतदाताहरुसमक्ष सूर्य चिन्हमा छाप लगाउन अपिल गरेका थिए । र्यालीपछि आयोजित कोणसभामा गण्डकी प्रदेशका नेकपा सांसद गायत्री गुरुङ, नेकपा प्रदेश कमिटी सदय तेजकुमारी पौडेल, पोखरा १५ का वडा सदस्य पार्वती कार्की लगायत महिला नेतृहरुले नेकपा महिलाहरुको हक अधिकार रक्षाका लागि नेकपा उम्मेद्वार विद्या भट्टराईलाई विजयी गराउनुको विकल्प नरहेको बताउनु भयो ।

यता पोखरा ११ मा पनि शुक्रबार चुनावी अभियान जारी छ । उक्त वडामा पनि महिलाहरुको बृहद र्याली सहित कोणसभा सम्पन्न भएको छ । स्थानीय समता मार्ग बाट सुरु भएको र्याली मणिपाल, हुँदै टेलिकम चो सम्म पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा नेकपा केन्द्रय सदस्य पिएल श्रेष्ठ, गण्डकी प्रदेशका नेकपा सांसद मिना गुरुङ, चुनावी कमाण्डर चुडामणी जंगली लगायतका वक्ताहरुले बिद्या जिताउनु पर्ने आधार राख्नुभयो । चुनावी कार्यक्रम अन्र्तगत नै वडा नं ४ मा पनि शुक्रबार महिलाहरुले बृहत र्याली निकाले । वडा नं ४ का महिला परिचालन कमिटी ईन्चार्ज ईन्द्रा अधिकारीको संयोजकत्वमा निकालिएको उक्त र्यालीले गणेशटोल, नालाकोमुख, २६ कुरिया, फिर्केपुल, हुँदै भयँरथान, शिद्धार्थचोक, रामकृष्णटोल, गैह«ापाटनमा आएर कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई नेकपा सांसद मित्रकुमारी गुरुङ, वडा नं २४ का वडा सदस्य सन्तु सुवेदी, उक्त वडाका चुनावी कमाण्डर दामोदर बैरागी, नेता मदनकाजी श्रेष्ठ लगायतले सूर्य चिन्हमा मतदान गरी उम्मेदवार विद्या भट्टराई अधिकारीलाई विजयी गराउन अपिल गर्नुभयो । त्यस्तै वडा नं १७ मा पनि विरौटाचोकबाट सुरु भएको र्याली ड्यामसाईड, राष्ट्र बैंक चोक, मुस्ताङचोक, विरौटाहुँदै छोरेपाटन पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभामा अखिल नेपाल महिला संघका केन्द्रीय अध्यक्ष अमृता थापा, नेकपा कास्कीका अध्यक्ष एवं वडा नं १७ का चुनावी कमाण्डर कृष्ण थापा अनेमसंघका सम्झना तिमिल्सना लगायतले सम्बोधन गर्नुभयो । बक्ताहरुले नेकपाको जीत नै जनताको जीत भएकाले सम्पूर्ण महिला शक्ति एकजुट हुनुको विकल्प नभएको धारणा राख्नुभयो । यसैगरी वडा नं ७, ८, ९, १६,२१, र ३३ मा पनि स्थानीय महिलाहरुको सक्रियतामा र्याली तथा कोणसभाहरु भएका छन ।