काठमाडौं, असोज २३। गत असोज १७ गते रातिदेखि तीन दिनसम्म लगातार परेको वर्षाका कारण रोशी खोलामा आएको बाढीले क्षति पुर्याएको बिपी राजमार्गको पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ।
सडक पुनः सञ्चालनका लागि सडक विभागका प्राविधिक टोलीहरू दिनरात खटिइरहेका छन्। उनीहरूले आज राति नै वा भोलि दिउँसोसम्म सडक मर्मत कार्य पूरा गरी यातायात सेवा सञ्चालन गर्ने लक्ष्य राखेका छन्।
बाढीले विशेषगरी काभ्रे खण्डमा चौकिडाँदेखि माम्तिसम्मका १४ स्थानमा सडक कटान गरेको थियो। हाल तीमध्ये १० स्थानमा मर्मत पूरा भइसकेको र अब चार ठाउँमा मात्र डाइभर्सन बनाउन बाँकी रहेको भक्तपुर सडक डिभिजन कार्यालयका इन्जिनियर दुर्गा प्रसादले जानकारी दिनुभयो।
‘हामीले पर्सिसम्म सबै काम सक्ने लक्ष्य राखेका थियौँ, अहिले काम अन्तिम चरणमा छ, सकेसम्म आज रातभर काम गरेर सडक खुलाउने प्रयासमा छौँ, नभए पनि भोलि दिउँसोसम्म बिपी राजमार्गमा सवारी सञ्चालन हुनेछ’, उहाँले भन्नुभयाे ।
सडकको सिन्धुली तर्फ नेपालथोक र वर्षे खोलाको बीचमा रोशीले कटान गरेको करिब एक किलोमिटर सडकमा डाइभर्सन निर्माण कार्य पूरा भएको छ। सिन्धुली खण्डमा काम सम्पन्न भएपछि उपकरणसहितको टोली काभ्रेको माम्तितर्फ पुगेको र त्यहाँ पनि डाइभर्सन निर्माण सुरु भइसकेको खाल्टे सडक डिभिजन कार्यालय सिन्धुलीका प्रमुख पारसमणि हमालले जानकारी दिनुभयो।
उहाँका अनुसार, ‘सिन्धुलीको टोली एक्लै खटिँदा माम्तिमा डाइभर्सन बनाउन भोलिसम्म लाग्ने सम्भावना थियो। तर काभ्रेबाट थप जनशक्ति पुगेकाले काम छिटो सकिने देखिएको छ।’
गत वर्षको बाढीले पनि बिपी राजमार्गमा ठूला क्षति पुर्याएको थियो। यस वर्षको बाढीले गत वर्ष बगाएको खण्डमा अस्थायी रूपमा बनाइएको डाइभर्सनसहित थप भागहरूमा समेत क्षति पुर्याएको हो।
सडक विभागका अनुसार, बाढीले क्षति पुर्याएकाे ठाउँमा पक्की सडक निर्माणकाे लागि टेण्डर आह्वान भइसकेकाे छ । पक्की सडक बनेपछि याे समस्या नदाेहाेरिने अपेक्षा गरिएकाे छ।













प्रतिक्रिया दिनुहोस्