जनता टाइम्स

२३ आश्विन २०८२, बिहीबार २२:४६

जेनजीका अगुवा नै गँजडी परेपछि‍…


काठमाडौं, असोज २३। आफूलाई ‘जेनजी आन्दोलनका अगुवा’ भन्दै बिहीबार माइतीघरमा प्रदर्शनमा उत्रिएका डा. निकोलस भुसाल (कमल भुसाल) गाँजा सेवन गर्ने गरेको खुलेको छ। स्वास्थ्य परीक्षणपछि उनलाई सुधार केन्द्र (रिहाब सेन्टर) राख्ने सर्तमा छाडिएकाे प्रहरीले जनाएको छ।

बिहीबार जेनजी आन्दोलनका माग पूरा नभएको भन्दै माइतीघरमा प्रदर्शनका लागि पुगेका भुसाललाई प्रहरीले अनुमति बिना प्रदर्शन गरेको भन्दै नियन्त्रणमा लिएको थियो। उनीसहित ४४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईले जानकारी दिनुभयो।

भुसालको स्वास्थ्य परीक्षण गर्दा लागुऔषध गाँजा सेवन गरेको पुष्टि भएको एसपी भट्टराईले बताउनुभयो। उहाँका अनुसार, भुसाल अघिल्लो वर्ष पनि गाँजा सेवन गरेको अवस्थामा पक्राउ परेका थिए। यसपालि पनि परीक्षणमा त्यही पुष्टि भएपछि प्रहरीले उनलाई ‘लागुऔषध दुर्व्यसनी व्यक्ति’ का रूपमा सुधार केन्द्रमा राख्ने सर्तमा छाडेकाे हाे ।

प्रहरीका अनुसार, भुसाललाई रिहाब सेन्टरमा राख्ने सर्तमा दाजुको जिम्मा लगाएर पठाइएको छ भने अन्य ४३ जनालाई भने मुक्त गरिएको छ।