जनता टाइम्स

२४ आश्विन २०८२, शुक्रबार ०८:३०

सरकार युवा पुस्ताले चाहेको परिवर्तनप्रति पूर्णरूपमा प्रतिबद्ध : सुशीला कार्की


काठमाडौं, असोज २४। प्रधानमन्त्री सुशीला कार्कीले युवापुस्ताको आवाज र भावना विगतका सरकारले पर्याप्त रूपमा सम्बोधन गर्न नसकेको स्वीकार गर्नुभएको छ।

जेनजी आन्दोलनको एक महिनाको अवसरमा उहाँले जारी गर्नुभएको विशेष भिडियो सन्देशमा वर्तमान सरकार युवा पुस्ताले चाहेको परिवर्तनप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पार्नुभएको छ । प्रधानमन्त्री कार्कीले भन्नुभएको छ, ‘हाम्रा युवाहरूको बलिदानको पछाडि राजनीतिक तथा आर्थिक सुधारको तीव्र चाहना छ। देशमा न्याय र विधिको शासन स्थापनाको अपेक्षा छ। भ्रष्टाचार र बेथिति अन्त्य भएको देख्ने अभिलाषा छ।’

युवापुस्ताको आन्दोलन केवल विरोध वा असन्तोषको अभिव्यक्ति मात्र नभई देश परिवर्तनको शक्तिशाली स्वरूप भएको उहाँले बताउनुभएको छ। उहाँले थप भन्नुभएको छ, ‘युवा पुस्ताको क्रान्ति केवल विरोध वा असन्तोष होइन, देश सुधार्ने शक्ति हो। त्यसैले यसलाई बेवास्ता गर्न मिल्दैन।’

प्रधानमन्त्री कार्कीले युवा पुस्ताले परिवर्तनका लागि उठाएका माग र भावनालाई सरकारका नीति तथा कार्य योजनामा समेट्दै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।