काठमाडौं, असोज २४। राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक दलहरूलाई छलफलका लागि आह्वान गर्नुभएको छ । आसन्न निर्वाचनलगायत विषयमा संवादका लागि उहाँले शुक्रबार विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूलाई छलफलमा बोलाउनुभएको राष्ट्रपति सचिवालयले जनाएको छ ।
गत भदौ २३ र २४ गतेको ‘जेनजी आन्दोलन’ पछि नयाँ सरकार गठन र प्रतिनिधिसभा विघटनसँगै आगामी फागुन २१ गते निर्वाचनको मिति घोषणा भएको सन्दर्भमा राष्ट्रपतिद्वारा बोलाइएको यो पहिलो औपचारिक संवाद हो । राष्ट्रपति कार्यालयका अनुसार उक्त छलफलमा अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की सहित राजनीतिक दलका अध्यक्षहरू र तिनका पछिल्ला वरियताका नेताहरू सहभागी हुनेछन् ।
दलहरूसँग छलफल गर्नु पर्ने प्रधानमन्त्री सुशीला कार्कीले त्यसमा चासो नदेखाएपछि राष्ट्रपतिले बैठक बोलाउनुभएको हाे । प्रधानमन्त्री र अन्तरिम सरकार राजनीतिक दलालाई बाइपास गरेर अघि बढिरहेको अवस्थामा राष्ट्रपतिले नै बैठक आह्वान गर्नु भएको छ ।
अन्तरिम सरकारलाई ६ महिनाभित्र निर्वाचन सम्पन्न गर्न म्यान्डेट दिइएको छ । यसै क्रममा निर्वाचन आयोगले आवश्यक कार्यतालिका स्वीकृत गरिसकेको छ । आयोगका अनुसार राजनीतिक दल दर्ता मङ्सिर १ देखि १० गतेसम्म खुला रहनेछ ।













प्रतिक्रिया दिनुहोस्