लोकतन्त्रमा प्रतिबन्ध होइन, आवाज सुन्ने संस्कार चाहिन्छ
काठमाडौं, असोज २४ । नेकपा (एमाले) पोलिटब्युरो सदस्य महेश बस्नेतले सरकारले लोकतान्त्रिक अधिकारमाथि कुठाराघात गरेको आरोप लगाउनुभएको छ ।
राष्ट्रिय युवा संघ नेपालले शनिबार आयोजना गर्न लागेको मोटरसाइकल र्यालीलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले रोक लगाएको निर्णयप्रति प्रतिक्रिया दिँदै बस्नेतले लेख्नु भएको छ, ‘लोकतन्त्रमा प्रतिबन्ध होइन, आवाज सुन्ने संस्कार चाहिन्छ सरकार।’
जिल्ला प्रशासन कार्यालय काठमाडौंले शुक्रबार सूचना जारी गर्दै स्वीकृति विना कुनै पनि सभा, जुलुस वा र्याली सञ्चालन गर्न नपाइने भन्दै युवा संघको कार्यक्रम रोक लगाएको हो। बस्नेतले यस निर्णयलाई गम्भीर राजनीतिक दमनको रूपमा व्याख्या गर्नुभएकाे छ ।उहाँले लेख्नु भएको छ, ‘शान्तिपूर्ण कार्यक्रम रोक्न गृह मन्त्रालयले अधिकार दुरुपयोग गरेर जिल्ला प्रशासनमार्फत जनताको आवाज रोक्ने प्रयास गरिएको विषय गम्भीर लोकतन्त्र माथिको प्रहार हो।’
आन्दोलनका नाममा बारम्बार प्रतिबन्ध लगाउने प्रचलनले देशमा विधिको शासन होइन, मनोमानी शासन देखिएको उहाँले बताउनुभयाे। ‘आन्दोलनका घटनालाई बहाना बनाएर जनताको अभिव्यक्तिको अधिकारमाथि लगाइएको प्रतिबन्ध लोकतन्त्र, विधिको शासन र जनसत्तामाथिको सीधा प्रहार हो’, उहाँले भन्नुभएको छ ।
बस्नेतले सरकार जनताको आवाजसँग डराएको बताउनुभएको छ। उहाँले सामाजिक सञ्जाल फेसबुक मार्फत भन्नुभएको छ ‘सरकार जनताको आवाजसँग डराएको छ, लोकतन्त्रमा जनताको अभिव्यक्ति सुन्ने संस्कार हुनुपर्छ, रोक्ने होइन।’
बस्नेतले नेकपा (एमाले) र राष्ट्रिय युवा संगठन नेपालले सो घटनालाई अत्यन्त गम्भीरतापूर्वक लिएको स्पष्ट पार्नु भएको छ। ‘नेकपा (एमाले) र युवा संगठनले यसलाई गम्भीरतापूर्वक लिएको छ, आवश्यक परे संविधान र लोकतन्त्रको पक्षमा प्रतिरोधका लागि सबै जना तयार हुनुपर्छ’, उहाँ लेख्नु भएको छ ।














प्रतिक्रिया दिनुहोस्