जनता टाइम्स

२४ आश्विन २०८२, शुक्रबार १९:१२

जेन-जी आन्दोलनमा रवि लामिछानेसँगै नख्खु जेलबाट भागेका कैदी आकाशले गरे साथीकै हत्या


काठमाडौं, असोज २४ । जेन–जी आन्दोलनको मौका छोपेर नख्खु कारागारबाट भागेका एक कैदीले काठमाडौंको ठमेलमा युवकको हत्या गरेका छन् ।

रास्वपा नेता–कार्यकर्ताहरूले सभापति रवि लामिछाने भगाउन कारागार तोडेपछि लामिछानेसँगै भागेका फरार कैदी दाङको राप्ती गाउँपालिका–१ निवासी आकाश मगरले ठमेलमा हत्या गरेका हुन् ।

प्रहरीका अनुसार आकाशले मकवानपुर घर भई बालाजु मनमैजु बस्दै आएका २५ वर्षीय सुरज तामाङलाई यही असोज १३ गते ठमेलको बुद्धबार गल्लीस्थित ह्याप्पी होटल अगाडि खुकुरी हानेर घाइते बनाएका थिए ।

सुरजको वीर अस्पतालमा उपचारको क्रममा १४ गते दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ । सुरज र आकाश चिनजानकै साथी भएको प्रहरीको भनाइ छ । घटनापछि आकाश फरार रहेका छन् । अनुसन्धानको क्रममा आकाश लागू औषध मुद्दामा २०८० असोज २७ देखि नख्खु कारागारमा रहेको पाइएको छ ।

जेनजी आन्दोलनको क्रममा भदौ २४ गते नख्खु कारागारमा रास्वपाका नेता कार्यकर्ताले आगजनी र हुलदंगा गरी रबिसहित कैदीबन्दी भगाएका थिए । नख्खुबाटै भगाइएका काभ्रे पनौती नगरपालिका–१२ का सन्तबहादुर तामाङले पनि असोज ५ गते श्रीमती मनिषाको हत्या गरेका थिए ।